ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

२०७८ जेठ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् ।

सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा रू. ४ अर्ब ४९ करोड ९९ लाख गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ ।

पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले रू. १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा रू. १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ ।

डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल १० महीनाको बीचमा जम्मा आधा महीना मात्रै बन्द भएकाले बाँकी समय पूरै काम गर्न पाउँदा विकास बैंकहरूको नाफा वृद्धिमा खासै प्रभाव नपरेको बताउँछन् ।

कुल खुद नाफा कमाउने दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । यसले वैशाखसम्ममा ७५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । कुल खुद नाफा गर्ने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले रू. ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यसले १ महीनामा थप ८ करोड नाफा बढाएको छ ।

कामना सेवा विकास बैंकले वैशाखसम्ममा ६४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यसले गत चैत्रसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । यस बैंकले यस अवधिमा ५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वैशाखसम्ममा रू. ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

निषेधाज्ञाको महीनामा राम्रो नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । गत तेस्रो त्रैमास अर्थात् चैतसम्ममा रू. ४० करोड ३६ लाख खुद नाफा गरेको उक्त बैंकले वैशाखमा रू.९ करोड ३८ लाख रुपैयाँले नाफा वृद्धि गरेर कुल नाफा रू. ४९ करोड ७४ लाख आर्जन गरेको छ ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अत्यावश्यक खालका रिटेल, मार्जिन प्रकृतिका कर्जाहरू गएका र यसबाट ब्याज आम्दानी भइरहेकाले निषेधाज्ञा भए पनि बैंकको नाफा वृद्धिमा कम प्रभाव परेको बताउँछन् ।

राष्ट्रियस्तरका लुम्बिनी र सांग्रिला डेभलपमेन्ट बैंकको कुल खुद नाफा बढे पनि मासिक वृद्धि भने घटेको छ ।

लुम्बिनी विकास बैंकले १० महीनामा रू.४६ करोड २८ लाख नाफा गरेको छ । यसले चैतमा रू.४२ करोड ३७ लाख नाफा गरेको थियो । यसबीच १ महीनामा थप रू. ३ करोड ९० लाख नाफा बढाएको छ । गत चैतसम्ममा रू. ३५ करोड १ लाख खुद नाफा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले रू. ८४ लाखको हाराहारीमा मात्रै नाफा वृद्धि गरेर वैशाखमा रू. ३६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)