ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि

२०७८ असार, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि केही खुकुलो पारिएको छ ।

सरकारको निर्देशनअनुसार स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरूले निषेधाज्ञा खुकुलो पारेका हुन् । पछिल्ला दिनहरूमा कोरोनाको परीक्षण नै कम हुन थालेकाले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण पुनः बढ्न हो कि भन्ने त्रास पनि छ ।

वीरगञ्जमा यसअघि बिहान १० बजेसम्म अत्यावश्यकीय वस्तुका पसल खोल्न दिइएकोमा यो समयलाई बढाएर १२ बजेसम्म पुर्‍याइएको छ । बारामा यो समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उत्पादन र उपकरणका पसल खोल्न दिइने भएपछि त्यस्ता उत्पादन र सेवाको आपूर्ति सहज हुने भएको छ । उत्पादन र आपूर्तिका मुख्य क्षेत्रमा निषेधाज्ञा सहज हुँदै गएपछि व्यापारिक गतिविधिले गति समात्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको विश्वास छ ।

कोरोना संक्रमण घटेपछि निषेधाज्ञालाई खुकुलो बनाइएको हो । कोरोना संक्रमण नियन्त्रण भए पनि उद्योग व्यापारका गतिविधि पहिलेकै लयमा फर्किन भने कम्तीमा २ महीना लाग्ने अध्यक्ष गुप्ता बताउँछन् ।

अहिले खाद्यान्न र औषधिबाहेकका अन्य उद्योग करीब बन्द अवस्थामा रहेको गुप्ताले बताए । ‘कच्चा पदार्थको ढुवानी र उत्पादनमा समस्या छैन । तर, उत्पादन भएको मालसामान बजारमा बेच्न सकिएको छैन,’ उनले आर्थिक अभियानसित भने, ‘उत्पादन गोदाममा थन्क्याउनुभन्दा कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले निषेधाज्ञाका कारण बारा–पर्सा कोरिडोरका ६० प्रतिशत उद्योगको उत्पादन बन्द भएको दाबी गरे ।

‘अत्यावश्यकीय उत्पादनबाहेक अन्यको उत्पादन नै बन्द छ । अत्यावश्यकीय वस्तुका उत्पादक पनि पूरा क्षमतामा चल्न पाएका छैनन्,’ अध्यक्ष लाठले भने ‘उत्पादन बजारमा पुर्‍याउन सकिने अवस्था नभए बन्द गर्नुको विकल्प छैन ।’

बजार र यातायात नखुलेसम्म उद्योग व्यापारले गति लिन नसक्ने तर्क लाठको छ । एक सातायता कामदारहरू काममा फर्किन थालेको उनले बताए । ‘कामदारको आपूर्ति भने केही सहज भएको छ । कोरोना नियन्त्रणमै रह्यो र निषेधाज्ञा खुकुलो भए बिथोलिएको व्यापारिक गतिविधि लिकमा आउँछ,’ उनले भने, ‘यसका लागि समय भने लाग्छ ।’
अधिकांश औद्योगिक र व्यापारिक प्रतिष्ठान सञ्चालन पूँजीको समस्यामा फसेको संघका अध्यक्ष गुप्ताले बताए । सवारी र बजार सुचारु नभएकाले बजारबाट उधारो असुली नभएको र यसले उद्यमलाई सञ्चालन गरिराख्न समस्या भएको उनले बताए ।

औद्योगिक र व्यापारिक गतिविधिमा आएको कमीको असर भन्सारबाट भित्रिने मालसामानको परिमाणमा पनि देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अधिकांश व्यापारिक वस्तुको आयात घटेको जानकारी प्रमुख भन्सार अधिकृत पौडेलले दिए । पौडेलका अनुसार निषेधाज्ञायता लगाउने र खाने वस्तु, जुत्ता, चप्पल, मोटर्स पार्टस्, उकरण, पेन्ट उद्योगका सामग्री, सवारीसाधन, इन्धनलगायतको आयातमा कमी आएको छ ।

पछिल्ला दिनमा संक्रमण घटेको देखिए पनि निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमण बढ्ने त्रास पनि छ । परीक्षण नै कम भएकाले संक्रमण कम देखिएको हो कि भन्ने आशंका अध्यक्ष गुप्ताको छ । पुनः संक्रमण बढेमा यसले आर्थिक र सामाजिक दैनिकीलाई थप समस्यामा पार्ने डर नहटिसकेको उनले बताए । ‘निषेधाज्ञा सहजीकरण गर्दा परीक्षणको दायरालाई पनि फराकिलो पार्नुपर्छ । यसमा आवश्यकताजति ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)