ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता

२०७८ असार, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म देशभरबाट प्राप्त तथ्यांकअनुसार बाढी र पहिरोमा परी २७ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोबाट बुधवार सिन्धुपाल्चोकमा दुईजना र बाजुरा, पाल्पा, डोटी तथा कास्कीमा एक/एक जनाको मृत्य भएको छ । देशभर कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्यांक नभए पनि ८९ ओटा घर बाढी र पहिरोले बगाएको तथ्यांक प्राप्त भएको प्रवक्ता दाहालले बताए ।

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि मनाङमा बढी प्रभाव परेको छ । त्यसैगरी बाजुरा, म्याग्दी, गुल्मी, डोटी, पाल्पा लगायत ठाउँमा पनि बाढीले जनधनको क्षति गरेको छ ।

उद्धार र राहतका लागि जिल्ला व्यवस्थापन समिति, स्थानीय तह, प्रहरी र सेना सक्रिय भएका छन् । गृहले सिन्धुपाल्चोकमा दुईओटा हेलिकोप्टर परिचालन गरी उद्धार गरेको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै मनाङमा पनि उद्धारका लागि हेलिकोप्टर तयार गरिएकोमा मौसमका कारण बुधवार उडान हुन नसकेको उनको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार बुधवार साँझ ६ बजे मेलम्चीको जलसतह ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटरमा आएकोमा ६ः४५ बजे पुनः बढेर ६ मिटर पुगेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश क्षेत्रमा घना वर्षा हुने प्रक्षेपण गरेको छ ।  महाशाखाका अनुसार बुधवार महाकाली, कर्णाली र नारायणीको बहाव बढेर मध्यम जोखिम देखिएकोमा पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम देखिएको छ ।

सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याउँदै आए पनि सरकारले बस्ती स्थानान्तरण र आवास पुनर्निर्माणको काम  गरेको देखिँदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको पहिरोबाट विस्थापित भएकाहरूको स्थानान्तरण र आवास निर्माण अझै हुन सकेको छैन ।

जग्गा खोजी, कानूनी प्रक्रिया पूरा गर्ने लगायत विभिन्न कामको पहल भइरहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर बस्ती स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइराखेको जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)