ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मझगाउँ विमानस्थलका लागि भीमदत्तद्वारा १ करोड जम्मा

२०७८ असार, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि १ करोड रुपैयाँ जुटाएको छ । विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा भएको त्रिपक्षीय समझदारी अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा १ करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले बताएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले सम्झौता बमोजिम नगरपालिकाको तर्फबाट बेहोर्नुपर्ने रकममध्ये पहिलो चरणमा एक करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरिएको जानकारी दिए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिनेछ ।

विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाबीच विमानस्थल निर्माणका लागि सम्झौता भएको हो ।

९ बुँदे सम्झौतापत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत लागत बेहोर्नुपर्ने उल्लेख छ । ४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग ३७ करोड लागतमा कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह (भीमदत्त र दोधारा चाँदनी नगरपालिका)ले समझदारी गरेका हुन् । स्तरोन्नतिपछि विमानस्थलको धावनमार्ग १६ सय मिटर लामो हुनेछ, जसबाट साना आकारका विमान सहजै उडान तथा अवतरण गर्न सकिने उल्लेख छ ।

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने काम र पहलमा कुनै कसर बाँकी नराखिने बताए । ‘यस क्षेत्रको आर्थिक विकास र समृद्धिसँग जोडिएको उक्त विमानस्थल सञ्चालनका लागि नगरपालिकाले वहन गर्नुपर्ने दायित्वबाट पछि हट्दैनौं,’ उनले भने । साथै उनले संघ र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरे ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)