असार ५, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत बसोबास गर्दै आएका पहिरो पीडितलाई स्थलगत रुपमा नै पुगेर सहयोग प्रदान गरिएको छ ।
पछिल्लो समय लगातार वर्षाका कारण विस्थापित बनेका १६ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पीडितको घरमा नै पुगेर सहयोग उपलब्ध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको नेतृत्वमा पुगेको जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, रेडक्रस सोसाइटी पर्वतको टोली र सञ्चारकर्मी सहितको उपस्थितिमा १६ परिवारलाई १ लााख ७० हजार नगद रुपैयाँ र खान बस्नका लागि सामग्रीहरु प्रदान गरिएको हो ।
संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त विपद् कोषमा रहेको रकमबाट पीडितहरुलाई सहयोग गरिएको थियो । दीर्घकालिन रुपमा समस्या समाधानका लागि नभई तत्कालका लागि राहत स्वरुप उक्त रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।
घर पूर्ण रुपमा भत्किएर छिमेकीको घरमा ६ जनाको परिवार सहित बस्दै आएका जलजला ४ देविस्थानका टेकबहादुर थापाले सहयोग थोरै भएपनि आफूहरुलाई ठूलो राहतको महसुस भएको बताए ।
विपद् व्यवस्थापन समितिको टोलीले थापा सहित जलजला गाउँपालिका ४, ७ र २ का पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराएको थियो । जस अन्तर्गत जिल्ला रेडक्रस सोसाइटी पर्वतले कम्बल, त्रिपाल र खाना पकाउने भाँडा समेत प्रदान गरेको थियो ।
जलजला गाउँपालिकामा झण्डै १०० भन्दा बढी घरहरु बस्न नमिल्ने गरी भत्किएको र क्षति पुगेको अनुमान गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । उनले तथ्यांक संकलन कार्य अघि बढिरहेको बताउँदै घरमा पूर्ण रुपमा क्षति पुगेका परिवारलाई पुनः सोही घरमा नबस्न र विद्यालय तथा अन्य खाली सार्वजनिक भवनहरुमा स्थानान्तरण गर्न गराउन वडाहरुमा सर्कुलर गरिएको बताए ।