ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असार १७ बाट हिमालयन रि सञ्चालनमा ल्याउने तयारी

२०७८ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनी असार १७ गते अर्थात् जुलाई १ तारीखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हिमालयन रिले गत जेठ तेस्रो साता बीमा समितिबाट कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई असार महीनाभित्र नै सञ्चालन गर्ने गरी संस्थापकहरू तयारीमा लागेका हुन् । 

सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । साथै, संस्थागत लगानीतर्पmको शेयर लगानी (रू. ७ अर्ब) पनि जुटिसकेको छ । 

बालुवाटारमा कम्पनीको कार्र्यालय स्थापना भइसकेको छ । कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गरिसकिएको छ । कम्पनी सञ्चालनको अनुमतिका लागि बीमा समितिमा आवेदन दिइसकेको संस्थापक लगानीकर्तामध्येका एक सदस्य व्यवसायी पशुपति मुरारकाले बताए । 

‘अन्तिम स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिइसकेका छौं । कम्पनीका तर्फबाट गर्नुपर्ने प्रक्रिया पनि लगभग सबै सकिएको छ,’ उनले भने, ‘समग्रमा हामी जुलाई १ तारीखदेखि कम्पनीलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ अबको १ हप्ताभित्र नै बीमा समितिबाट कम्पनी सञ्चालनको अन्तिम स्वीकृति पाइने उनको विश्वास छ । 

बीमा समितिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि हिमालयन रिलाई अन्तिम स्वीकृति दिने तयारी भएको बताए । ‘सैद्धान्तिक स्वीकृत दिइसके पछि अन्तिम स्वीकृति दिन समस्या हँुदैन । कम्पनीबाट पूँजी जुटेको जानकारी पनि प्राप्त भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीलाई छिट्टै अन्तिम स्वीकृति दिनेछौं ।’ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विदेशी व्यक्ति ल्याउने गरी छलफल गरिएको छ ।

तर, निर्णय भने नभएको एक लगानीकर्ताले बताए । ‘पुनर्बीमा व्यवसाय गर्न हामी विदेशी बजारमा जानैपर्ने हुन्छ । त्यसैले हामीले विदेशबाट नै सीईओ नियुक्त गर्ने गरी छलफल गरेका छौं,’ उनले भने, ‘तर, कोरोनाका कारण त्यसमा केही चुनौती हुन सक्छ । यस विषयमा छिट्टै निर्णय हुनेछ ।’

निजीक्षेत्रको स्वामित्वको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारण शेयर (आईपीओ) निष्कासन गरेर जुटाइने मुरारकाले बताए । 

कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । बीमा समितिले गठन गरेको अध्ययन समितिले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले निजीक्षेत्रको स्वामित्व हुने गरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका छन् । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)