ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्चीको पानी आउने समय पर धकेलियो 

२०७८ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो । 

तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । मनसुन शुरू हुनासाथ नै मेलम्चीमा आएको बाढीपहिरोका कारण आयोजना स्थलमा क्षति पुगेपछि थप केही महीना पानी नआउने निश्चित भएको छ । 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

‘आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मतसम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २/३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’ 

अहिले पनि नदीको जलस्तर बढेकाले प्रभावित क्षेत्रसम्म पुग्न नसकिएको पन्तले जानकारी दिए । सोमवार (आज) आयोजना तथा समितिका अधिकारीहरू आयोजना स्थलसम्म जाने तयारी गरेका छन् । ‘मेलम्ची बजारबाटै बाढीबाट बिग्रेको सडक मर्मतसम्भार गर्दै अघि बढ्ने प्रयास गरिएको छ,’ पन्तले भने, ‘त्यहाँ पुग्न सकिएको छैन, प्रारम्भिक प्रतिवेदनले आयोजनाका प्रवेशमार्ग (एप्रोच रोड), चारओटा पुल, क्याम्पहरू बगेका छन् ।’ अम्बाथानसम्म पुग्न नसकेको र हेलिकोप्टरबाट अवलोकन गरिएकाले विस्तृत क्षतिको विवरण आउन नसकेको उनको भनाइ छ । 

मेलम्ची पुल बजारदेखि आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग २१ किलोमीटरको छ, । त्यसमध्ये आधाजति सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ । निर्माण सामग्रीका साथसाथै उपकरणहरू र क्याम्पहरू पनि बगेको हुँदा निर्धारित समयमै उपत्यकामा पानी वितरण हुने सम्भावना कम देखिएको छ । 

वैकल्पिक माध्यमबाट चलाएको सुरुङ र अम्बाथानको अडिटमा पनि केही बालुवा भरिएको भन्दै पन्तले भने, ‘सुरुङमा अलिअलि बालुवा भरिएको भए पनि धेरै क्षति नभएको पाइएको छ ।’ २ महीनामा पानी ल्याउने विषय अनिश्चित नै भएको तर त्यसपछि भने जतिसक्दो छिटो उपत्यकामा पानी ल्याउने प्रयत्न गरिने उनको भनाइ छ ।
 
अहिले विभिन्न निकायसँगको सहकार्यमा समितिले योजना बनाएअनुसार मेलम्ची बजारदेखि बाटो मर्मतको काम शुरू भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)