ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ महीनामा दर्जन वित्त कम्पनीको नाफामा संकुचन

२०७८ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । अधिकांश वाणिज्य बैंक र विकास बैंकले नाफा बढाउन सके पनि १ दर्जन वित्त कम्पनीको नाफा भने संकुचनमा आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तबाट वैशाख मसान्तमा फड्को मार्दा वित्त कम्पनीहरूको नाफा करीब ६ करोड ६९ लाख रुपैयाँले घटेको छ । 

नेपाल राष्ट्र बैंकबाट उपलब्ध तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वित्त कम्पनीमध्ये १७ ओटा वित्त कम्पनीको नाफा घटेको छ ।

नाफा वृद्धि घट्दा वित्त कम्पनीहरूको चालू आर्थिक वर्ष (आव) को १० महीनासम्म खुद नाफा रू. १ अर्ब ९१ करोडमा सीमित भएको छ । यसअघि चैतसम्म अर्थात् चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीहरू करीब १ अर्ब ९८ करोड रुपैयाँ बराबर नाफा गर्न सफल भएका थिए । 

सरकारले गत वैशाख १६ देखि मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बैंकिङ कारोबार र नाफामा देखिएको नेपाल वित्तीय संस्थासंघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । एक महीनामा चारओटा वित्त कम्पनीले मात्रै नाफा वृद्धि गर्न सफल भएका छन् । बाँकी १२ कम्पनीको नाफा वृद्धि प्रभावित भएको छ । वेस्ट फाइनान्सले सबैभन्दा बढी अर्थात् रू. २ करोड ९८ थप नाफा कमाएको छ । राष्ट्रियस्तरको यो फाइनान्स कम्पनीको वैशाखसम्ममा खुद नाफा रू. ११ करोड ८३ लाख पुगेको छ । 

नाफा वृद्धि गर्ने दोस्रो कम्पनीमा सृजना फाइनान्स रहेको छ । ३ जिल्लामा मात्रै सञ्चालनमा रहेको यो फाइनान्सले १ महीनामा ९२ लाख ४० हजार बराबर नाफा बढाएको छ । वैशाखसम्म उक्त कम्पनीको खुद नाफा रू. २० करोड २२ लाख रुपैयाँ बराबर रहेको छ । यस कम्पनीले गत चैतसम्ममा रू. १९ करोड ३० लाख रुपैयाँ बराबर खुद नाफा गरेको थियो ।

कोेरोनाको संक्रमण धेरै देखिएको क्षेत्रमा निषेधाज्ञा लगाएकाले जोखिम नभएका क्षेत्रमा वित्तीय कारोबार भइरहेको छ । यसकारण नाफा वृद्धि गर्न सफल भएको वित्त कम्पनीहरूको भनाइ छ । 

गुडविल फाइनान्सले वैशाख १ महीनामा साढे १ लाख रुपैयाँ बराबर मात्रै नाफा वृद्धि गरेकोे छ । गत चैतसम्म यसले ४ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल वित्तीय संस्थासंघका अध्यक्ष सरोजकाजी तुलाधर अधिकांश वित्त कम्पनीको नाफा अपेक्षा गरेअनुसारको नदेखिनुमा निषेधाज्ञाले ब्याज आम्दानी प्रभावित भएको बताउँछन् ।

गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका तुलाधरका अनुसार अभैm एनएफआरएस (वित्तीय प्रतिवेदन मान) अनुसार नगदमा नउठेको ब्याजलाई समेत आम्दानीमा देखाउनु परेकाले वास्तविक नाफा खुद नाफामा देखिँदैन । निषेधाज्ञाका बेला वाणिज्य बैंक र विकास बैंकको नाफा वृद्धि भएको छ । तर, तुलनात्मक रूपमा वित्त कम्पनीको नाफा कम भएको उनले बताए । ‘यसको खास नाफा कति प्रभावित भएको छ भनेर वितरणयोग्य नाफाबाट हेर्न सकिन्छ । चालू आवको नाफामा कोभिडले कति असर पार्‍यो भन्ने असारमसान्तमा आएको तथ्यांकले देखाउँछ,’ उनले अभियानसँग भने । समग्रमा वित्त कम्पनीहरूको कारोबार सोचेजस्तो नभएको उनको भनाइ छ । 

एकजिल्ले अर्थात् राजविराजको सप्तरीमा सञ्चालित मल्टीपर्पस फिनान्सले यस अवधिमा करीब १ लाख नाफा बढाएर वैशाखमा रू. ४९ लाख रुपैयाँको खुद नाफा गरेको छ । गत चैतमा यस्तो नाफा ४८ लाख रुपैयाँ थियो ।

नाफा वृद्धिमा संकुचन देखिए पनि चालू आवमा अहिलेसम्म उच्च खुद नाफा मञ्जुश्री फाइनान्सले गरेको छ । राष्ट्रिय स्तरको उक्त कम्पनीको खुद नाफा रू. ३६ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको छ । तर, वैशाख मसान्तमा भने यो कम्पनीको १ करोड ११ लाख रुपैयाँ नाफा घटेको छ । यसअघि ३७ करोड ४५ लाख रुपैयाँ बराबरको नाफा गरेको थियो ।

बढी नाफा कमाउनेको दोस्रो स्थानमा गोर्खाज फाइनान्स छ । यसले वैशाखसम्ममा २३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो त्रैमाससम्ममा उक्त कम्पनीले २५ करोड २७ लाख रुपैयाँ बराबर नाफा गरेको थियो । कम्पनीको नाफामा वैशाख महीनामा रू. १ करोड ३० लाख रुपैयाँ बराबरले संकुचनमा आएको छ ।

आईसीएफसी फाइनान्सको नाफा २७ लाखले घटेर रू. १५ करोड ५१ लाखमा सीमित छ । चैतसम्म यसको नाफा १५ करोड ७९ लाख रुपैयाँ थियो । ललितपुरको नाफा ४६ लाखले घटेर १० करोड ७१ लाखमा सीमित भएको छ । युनाइटेडको २ करोडले नाफा घटेर १० करोड ४३ लाख, पोखराको १ करोड ९० लाख रुपैयाँले घटेर १० करोड १९ लाख, रिलायन्सको डेढ लाखले घटेर ८ करोड ६ लाख, गुह्येश्वरी मर्चेन्टको ५२ लाखले घटेर रू.७ करोड १५ लाखमा सीमित भएको छ । सेन्ट्रलको रू.७४ लाखले घटेर ६ करोड ९७ लाख, श्री इनभेस्टमेन्ट एन्ड फाइनान्सको १ करोड ३ लाखले घटेर ६ करोड १६ लाख र समृद्धि फाइनान्सको ४७ लाखले नाफा घटेर ३ लाख रुपैयाँमा सीमित भएको छ । नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको भने नाफामा घटबढ नभई तटस्थ अर्थात् १ करोड १० लाखमै सीमित रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

प्रायः त्रैमासिक प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने भए पनि मासिक रूपमा सबै संस्थाको तथ्यांक नभएको केन्द्रीय बैंकले बताएको छ । यसकारण प्रदेशस्तर अर्थात् प्रदेश नम्बर २ धनुषामा सञ्चालित जानकी फाइनान्सको वित्तीय विवरण भने उपलब्ध भएको छैन । यसैगरी राष्ट्रिय स्तरको क्यापिटल मर्चेन्ट र नेपाल फाइनान्सको १० महीनाको खुद नाफाको वित्तीय प्रतिवेदन राष्ट्र बैंकको तथ्यांकमा उपलब्ध छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)