पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । पछिल्लो समय लगातार वर्षाका कारण विस्थापित बनेका १६ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पीडितको घरमै पुगेर सहयोग उपलब्ध गराएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको नेतृत्वमा पुगेको जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, रेडक्रस सोसाइटी पर्वतको टोली र सञ्चारकर्मीसहितको उपस्थितिमा १६ परिवारलाई १ लााख ७० हजार नगद रुपैयाँ र खाने/बस्ने सामग्री उपलब्ध गराइएको हो ।
संघ र गण्डकी प्रदेश सरकारबाट प्राप्त विपद् कोषमा रहेको रकमबाट पीडितलाई सहयोग गरिएको थियो ।
दीर्घकालीन रूपमा समस्या समाधानका लागि नभई तत्कालका लागि राहतस्वरूप उक्त रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।
घर पूर्ण रूपमा भत्किएर छिमेकीको घरमा ६ जनाको परिवारसहित बस्दै आएका जलजला–४ देवीस्थानका टेकबहादुर थापाले सहयोग थोरै भए पनि ठूलो राहतको भएको सुनाए ।
विपद् व्यवस्थापन समितिको टोलीले थापासहित जलजला गाउँपालिका–४, ७ र २ का पहिरोपीडितलाई सहयोग उपलब्ध गराएको थियो । यसअन्तर्गत जिल्ला रेडक्रस सोसाइटी पर्वतले कम्बल, त्रिपाल र खाना पकाउने भाँडासमेत वितरण गरेको थियो ।
जलजलामा झन्डै १ सयभन्दा बढी घर बस्न नमिल्ने गरी भत्किएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।
तथ्यांक संकलन अगाडि बढाइएको बताउँदै उनले पूर्ण रूपमा घरमा क्षति पुगेका परिवारलाई पुनः सोही घरमा नबस्न र विद्यालय तथा अन्य खाली सार्वजनिक भवनमा स्थानान्तरण गर्न/गराउन वडाहरूमा सर्कुलर गरिएको जानकारी दिए ।