पर्वत । पर्वतको फलेवास नगरपालिका र जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । फलेवासले रू. ८५ करोड ३० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । फलेवासमा चालूतर्फ ३० करोड ६८ लाख, पूँजीगततर्फ ३९ करोड ३२ लाख र सामाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।
नगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा कोभिड–१९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन तथा स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास र ऊर्जाको विकासमा प्राथमिकता दिइएको छ । साथै विगत वर्षहरूमा शुरू तथा परिकल्पना गरिएका विकासका आयोजना सम्पन्न गर्न समेत जोड दिइएको छ ।
जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । यसमध्ये चालूतर्फ ८ करोड र पूँजीगततर्फ १५ करोड २३ लाख ५० हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । बजेटको प्राथमिकतामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका साथै पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन रहेको छ ।