ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञा खुकुलो भएपछि २०० केजी सुन आयात

२०७८ असार, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् ।

गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाएर सुनचाँदी पसल पनि खुला गर्न दिएको छ । त्यसपछि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिशमा नेपाल बैंकर्स संघले त्यस बराबरको सुन आयात गरेको हो ।

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले महासंघको सिफारिशमा बैंकर्स संघबाट २०० केजी सुन आयात भएको जानकारी दिए । ‘बैंकर्स संघले त्यो सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गरिसकेको छ,’ उनले भने, ‘यसपालि काठमाडौं उपत्यकाका लागि १०० केजी र उपत्यकाबाहिरका लागि १०० केजी सुन आयात गरिएको छ ।’

कोरोनाको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लगाइएको थियो । गत वैशाख १२ गतेदेखि नै सुन आयात ठप्प थियो । अहिले निषेधाज्ञा खुकुलो भएपछि सुन आयात गर्न शुरू गरिएको शाक्यले बताए ।

निषेधाज्ञा जारी हुने सम्भावना बढेपछि महासंघले नै बैंकहरूलाई सुन आयात नगर्न आग्रह गरेको थियो । बैंकहरूले गत वैशाख १२ गते सुन आयात गरेका थिएनन् । नेपालमा सुन आयात गर्ने अख्तियार बैंकहरूलाई दिइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठमा सुनको आयात शून्य रहेको छ । वैशाखमो आयात अत्यन्तै न्यून देखिएको छ ।

गत वैशाख मसान्तसम्म रू. २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ । त्यस अवधिमा ३ हजार १८ केजी सुन आयात भएको हो । उक्त अवधिमा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख र यूएईबाट १८ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ । विभागका अनुसार जेठमा भने सुनको आयात भएको छैन ।

कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण पनि सुनको आयातमा कमी आएको थियो । तर, बन्दाबन्दी खुलेपछि सुनको आयात बढ्दै गएको थियो । अहिले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा लगाएपछि सुनको आयात पुनः प्रभावित भएको थियो

वैशाखमा सुनको आयात औसतभन्दा पनि कम थियो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात भएको देखिन्छ । तर, वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो ।

जेठमा भने सुन आायत नै भएको छैन । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो । वैशाख महीना विवाहको सिजन भएकाले चैतमा सुनको आयात बढी भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)