ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य घट्यो

उद्योगीलाई घाटा, उपभोक्तालाई राहत

२०७८ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ ।

नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् ।

नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेको व्यवसायीहरूले बताएका छन् ।

बजारमा अहिले सूर्यमुखी तेलको मूल्य थोक मूल्य प्रतिलिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमी नआएकाले तोरीको तेलको मूल्य भने स्थिर रहने घरेलु तेल उद्योगका सञ्चालक श्रवण अग्रवालले बताए । उनका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्यमा भने प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म कमी आउन सक्छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले गतवर्ष यो बेलामा भटमासको कच्चा तेलको मूल्य ६ सय ६० डलर मात्र रहेको बताए । तर, कोरोनाका कारण कच्चा तेलको मूल्य लगातार वृद्धि भएको उनले बताए ।

सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन १ हजार ६ सय ५० अमेरिकी डलरबाट १ हजार ३ सय २५ डलरमा झरेको छ । अघिल्लो वर्ष यही सिजनमा सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन ७ सय २५ देखि ७ सय ५० अमेरिकी डलर थियो ।

सूर्यमुखीको कच्चा तेल रूस र युक्रेनबाट आयात गरिन्छ । पहिलेकै मूल्यमा झिकाएको ३० हजार टनभन्दा बढी कच्चा तेल कोलकाता पोर्टमा रहेको छ । मुरारकाका अनुसार ३० हजार टन तेलको एलसी खोलिसकिएको छ । यसरी प्रतिटन ३ सय डलर गुमाउँदा पनि नेपाली उद्योगीले ६० हजार टन तेलमा कम्तीमा १ अर्ब ८० करोड एकै लटमा गुमाएका छन् ।

उद्योगीले अन्तरराष्ट्रिय बजारका आधारमा साप्ताहिक रूपमै स्थानीय बजारमा तेलको मूल्य बढाइरहेका थिए । त्यसैले अन्तरराष्ट्रिय बजारमा घट्दा यहाँ पनि मूल्य स्वतः घटाउनु पर्ने उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका सञ्चालक विपिन कावरा बताउँछन् । उनका अनुसार अमेरिकी बजारमा बायोप्mयुलका रूपमा भटमासको तेल प्रयोग हुन छाडेपछि अन्तरराष्ट्रिय बजारमा मूल्य घटेको हो ।

घैला छाप तोरीको तेलको उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलका सञ्चालक नरेश राठीले नेपालमा भन्दा भारतमा तोरी तेलको मूल्य कम भएकाले खुला बोर्डरबाट तेल नेपाल आइरहेको बताए । यसबाट नेपालका तेल उद्योगहरूको विक्रीमा ह्रास आएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)