ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महामारीमा वैदेशिक रोजगार : गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

२०७८ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् ।

नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा १६÷१७ महीनादेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान पाएका छैनन् ।

साउदी, ओमन, कतारसहितका देशमा समेत कामदार जान सकेका छैनन् । ती देशले शर्त अघि सारेर कामदार लिन इच्छा देखाए पनि त्यस्तो शर्त पूरा गर्न कठिन देखिएको छ । ती देशले आप्रवासी कामदार नीतिमा प्रोटोकलअन्तर्गत भ्याक्सिन अनिवार्य गराउँदा नेपालीहरूलाई जान अप्ठ्यारो परेको हो ।

साउदी, दुबई, कुवेतले तयार गरेको प्रोटोकलमा भ्याक्सिन अनिवार्य गरिएको छ । अमेरिका तथा यूरोपेली मुलुकमा निर्माण गरिएको भ्याक्सिन लगाएका कामदार लिने नीति ती देशको रहेको छ । नेपालमा सरकारले भ्याक्सिनको प्रबन्धमा ढिलाइ गर्दा नेपाल थप रेड जोनमै रहने र शर्त पूरा गरेर नेपाली जान सक्ने अवस्था तत्काल नरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।

‘भ्याक्सिन नलगाएको श्रमिक कुनै पनि देशले लिन मानिरहेको छैन तर नेपालमा सरकारले भ्याक्सिनको प्रबन्ध गर्न सकेन, यसले वैदेशिक रोजगार थप संकटमा धकेलियो,’ श्रेष्ठको भनाइ छ ।

मुलुकभित्र सृजना भएको बेरोजगारीको अवस्थालाई सल्टाउन नेपालले रोजगारमा कूटनीतिक पहल र भ्याक्सिन अभियानलाई जोडबलका साथ अघि बढाउनुपर्ने चुनौती रहेको उनी बताउँछन् । ‘कि त छिटो सबैलाई भ्याक्सिन देऊ होइन भने रेड जोनमा राखेका गन्तव्य मुलुकलाई सरकारले भ्याक्सिनको प्रबन्ध गरेर हाम्रा कामदार लैजाऊ भन्न सक्नुप¥यो,’ श्रेष्ठ भने ।

सरकारमाथि खोप ल्याउन दबाब परे पनि तत्काल खोप उपलब्ध हुने छाँटकाट देखिँदैन । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले चीन, भारत, अमेरिकासहित यूरोपेली मुलुकसँग खोपका लागि निरन्तर पहल जारी रहेको बताए । उनका अनुसार छिट्टै खोपको व्यवस्थापन हुनेछ । तर, कहिले हुन्छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले यकिन भन्न सक्ने अवस्था भने छैन ।

सरकारले निषेधाज्ञा खुकुलो गरेर उडानमा केही सहजीकरण गरेपछि थोरै संख्यामा मात्रै शर्त पूरा गरेर साउदी, ओमन, कतारमा कामदार गएको व्यवसायीहरूको भनाइ छ । नेपालीहरूका लागि आकर्षक मानिँदै आएको टर्कीले पनि सोमवारबाट नेपालसहित ६ ओटा मुलुकबाट हुने सीधा उडानमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै टर्कीले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सीधा उडानमा रोक लगाएपछि अब त्यहाँ तत्काल नेपाली जान कठिन हुनेछ ।

नेपाल विप्रेषणमा निर्भर मुलुक भएको र तत्काल अन्य सम्भावना नदेखिएकाले वैदेशिक रोजगारमा कामदार पठाउन सरकारले ठोस पहल थाल्नुपर्ने देखिएको छ ।

कोरोना महामारी शुरू भएयता खाडी मुलुकसहित अन्य देशबाट रोजगारी गुमाएर फर्केकाहरू र मुलुकभित्रै १२ लाखभन्दा बढी थप बेरोजगार बनेको वैदेशिक रोजगार व्यवसायीहरूको अध्ययनले देखाउँछ । यसमा भारतबाट फर्केका गणना गरिएको छैन । प्रत्येक वर्ष नेपालबाट वैदेशिक रोजगारमा जान इच्छा देखाउनेको संख्या ५–६ लाखको हाराहारीमा हुने गरेको र यो जनशक्ति कोरोनाकै कारण विगत २ वर्षयता विदेशमा जान नपाएको अध्ययनले देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)