ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपहिरोबाट सडक र पुलमा रू. १ अर्बभन्दा बढीको क्षति

मर्मतसम्भारका लागि नियमित बजेटकै भर

२०७८ असार, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ । बाढीका कारण सडकहरू वासआउट हुँदा, पुल, डाइभर्सनहरू समेत बगाउँदा अहिलेसम्म उक्त रकम बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक आकलन छ ।

जेठ ३१ गतेदेखि असार १५ गतेसम्ममा आइपुग्दा मुलुकभरका विभिन्न राजमार्ग तथा सहायक राजमार्गका साथै अन्य गरी ६१ स्थानमा सडकहरू अवरुद्ध भएका छन् । विभागको तथ्यांकअनुसार विभिन्न १० स्थानमा सडक अझै अवरुद्ध छन् भने दुईतर्फी रूपमा सञ्चालनमा आएका सडक जम्मा १९ स्थानका छन् । अन्य स्थानका सडकहरू भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शिवप्रसाद नेपालका अनुसार यो क्षति प्रारम्भिक हो । ‘मनसुन शुरुआती चरणमा छ । मध्यअसारमै क्षति करीब रू. १ अर्बभन्दा बढी पुगेको देखिन्छ,’ नेपालले भने, ‘वर्षायाम अभैm पनि बाँकी रहेकाले यो क्षतिको ग्राफ बढ्नेछ ।’

विगतका वर्षहरूमा वर्षायाममा आउने बाढीपहिरोबाट रू. २ देखि ३ अर्बभन्दा बढीको क्षति हुने गरेको थियो । वार्षिक रूपमा बाढीपहिरोकै कारण अर्बभन्दा बढीको क्षति हुने भए पनि पुनर्निर्माणका लागि सरकारले छुट्टै बजेट व्यवस्थापन भने गरेको छैन ।

सडक विभागले क्षतिको विवरणसहित मर्मतसम्भार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि छुट्टै बजेट माग गर्दैै आएको छ तर छुट्टै बजेट भने पाउने गरेको छैन । क्षति पुगेका सडक तथा पुलहरू पुनःस्थापना तथा पुनर्निर्माणका लागि विभागले नियमित बजेटमै रहेर मर्मतसम्भारलाई अघि बढाउँदै आएको छ ।

‘विभागसँग भएको नियमित र अन्य काममा लागि आएको बजेटले उक्त काम गर्न सम्भव पनि हुँदैन,’ नेपालले भने, ‘क्षतिको आकलन गरेर बजेट माग्ने गरिन्छ, माग गरेको बजेट नपाउँदा नियमित बजेटबाटै काम चलाउने र अर्काे बजेटबाट यसको परिपूर्ति गर्ने गरिएको छ ।’

विभागले विगत ४/५ वर्षदेखि क्षतिको आकलन गरेर मर्मतसम्भारका लागि बजेट माग गरे पनि पाउन नसकेको उनको भनाइ छ । यसले गर्दा विगतदेखि नै नियमित बजेटलाई नै परिचालन गरेर मर्मतसम्भार गरिएको उनले बताए । नियमित बजेटबाट यस्ता कार्यहरूमा रकमान्तरण गरी काम गर्दा नियमित काममा बाधा पुग्ने गरेको नेपालको भनाइ छ । नियमित बजेटबाट काम गर्दा नियमित कार्ययोेजनाअनुसारका काममा बाधा पुग्ने गरेको छ । बाढीपहिरोबाट हुने क्षति र त्यसपछिको मर्मतसम्भारका लागि सरकारले स्थापना गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जस्ता संरचनामा सीड मनी राखेर फन्डको व्यवस्था गरी औचित्यका आधारमा बजेट व्यवस्थापन गर्न सके बजेटको अभाव नहुने उनको भनाइ छ ।

आपत्कालीन काममा लागि भनेर रू. १० करोडसम्म बजेट भने छुट्ट्याउने गरिएको छ । यातायात सुचारु गर्न तथा इमर्जेन्सीका लागि भनेर सडक बोर्डबाट प्राप्त रकममध्येबाट आकस्मिक मर्मत शीर्षकमा उक्त रकम छुट्ट्याउने गरिएको उनको भनाइ छ । यसबाट तुरुन्तै गर्नुपर्ने काम गर्न मात्रै पुग्छ । त्यसैले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भने छुट्टै बजेट आवश्यक भएको नेपाल बताउँछन् । आपत्कालका लागि विनियोजित बजेट विभागअन्तर्गतका ३७ डिभिजन सडक कार्यालयहरू, १३ ओटा यान्त्रिक तथा हेभी इक्वीपमेन्ट कार्यालयहरूका लागि हो । यसैबाट आपत्तकालीन मर्मतसम्भार गर्ने गरिएको उनको भनाइ छ ।

अहिले मनाङ र अरनिको राजमार्ग अवरुद्ध छन् । मनाङमा निकै साँघुरा सडक छन् । एक स्थानको पहिरो नहटाई अर्काे खण्डमा पुग्न सकिँदैन । यसले गर्दा पनि त्यहाँ अवरुद्ध भएका सडकहरू खुलाउन समय लागेको नेपालले बताए । ‘अहिलेको प्रमुख प्राथमिकता भनेको एकतर्फी रूपमा भए पनि सडक खुलाउने हो,’ उनले भने, ‘मौसममा सुधार नहुँदासम्म दुईतर्फी नै सडक खुलाउन खोजिँदैन किनभने यसले झन बढीपहिरो जाने र बढी क्षति हुने सम्भावना हुन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)