ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

२०७८ असार, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो ।

यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्न सकेका थिएनन् । तर, यो आवमा वर्ष ११ महीनामै १ खर्बभन्दा बढी बीमाशुल्क संकलन भएको छ । कुल बीमाशुल्क संकलनमा यो नयाँ रेकर्ड हो ।

यो बीमाशुल्क गत आवको सोही अवधिको भन्दा ४६ प्रतिशतले बढी हो । गत आवको ११ महीनामा जीवन बीमा कम्पनीहरूले ७० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । कम्पनीहरूले यस अवधिमा ३५ अर्ब १९ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क संकलन) गरेका छन् ।

बीमा समितिले गतवर्ष नै जीवन बीमाशुल्क १ खर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । तर, कोरोना महामारीका कारण त्यो पूरा हुन सकेको थिएन ।

बीमाशुल्क संकलनमा नयाँ उचाइ देखिए पनि कोरोना नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा कारण यसपटक पनि बीमा व्यवसाय केही प्रभावित भएको छ । वैशाखसम्म मासिक ५/६ अर्ब रुपैयाँको हाराहारीमा बीमाशुल्क संकलन हुँदै आएको थियो । तर, जेठमा ३ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ । गत वैशाखमा भने रू. ५ अर्ब २० करोड बीमाशुल्क संकलन भएको थियो ।

जीवन बीमक संघ नेपाल अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले निषेधाज्ञा कारण पछिल्लो समय बीमा व्यवसाय प्रभावित भएको बताए । पछिल्लो समय नयाँ व्यवसायभन्दा पनि नवीकरण हुने व्यवसाय नै बढी रहेको उनको भनाइ छ ।

‘चैतसम्म बीमा व्यवसाय उत्साहजनक नै थियो । तर, कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा लगाएपछि बीमा व्यवसाय पनि प्रभावित भयो,’ उनले भने, ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि भने बीमा व्यवसाय चलायमान भइसकेको छ । असार मसान्तसम्म राम्रै व्यवसाय हुने अनुमान गरेका छौं ।’

नेपाली बीमा बजार प्रविधियुक्त नहुँदा व्यवसायमा ह्रास आएको उनको भनाइ छ । ‘बीमा पोलिसी विक्री गर्ने मामलामा विभिन्न प्रविधि प्रयोग गर्ने भियतनाम, मलेशिया, चीन, कोरियाजस्ता मुलुकमा कोरोनाको त्यति प्रभाव देखिएन । तर, नेपाली बीमा बजारमा भने कोरोनाले प्रभावित देखियो ।

त्यसका कारण नेपाली बीमा बजारमा प्रविधिको विकास नहुनु हो,’ उनले भने, ‘अझै पनि हामीकहाँ ग्राहकलाई प्रत्यक्ष रूपमा भेट्नुपर्ने बाध्यता छ । पोलिसी विक्री गर्ने मामलामा प्रविधिलाई प्रयोगमा ल्याउन सकेको भए यस्तो हुने थिएन ।’

समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । कम्पनीले रू. २७ अर्ब ५७ करोड बीमाशल्क संकलन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । उसले रू. १४ अर्ब ६५ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने ९ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)