ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो

२०७८ असार, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।

कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एसेम्बल प्लान्टमा सिचुवानको ४७ प्रतिशत, सेकको ४६ प्रतिशत र सुन्दरको ७ प्रतिशत लगानी रहनेछ ।

सुन्दरले २०७६ को मङ्सिरमै एक कार्यक्रमका बीच यी दुईओटा कम्पनीसँग एसेम्बल प्लान्ट स्थापनाका लागि सम्झौता भएको बताएको थियो । त्यसैअनुसार अघिल्लो वर्ष वैशाखदेखि प्लान्ट स्थापनाको तयारी गर्ने बताए पनि निषेधाज्ञाका कारण काम अघि बढ्न नसकेको कम्पनीका अध्यक्ष थापाले बताए ।

एनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि शुरूमा रू. ३ अर्ब ६० करोड लगानी गरिँदै छ । त्यसपछि क्रमशः लगानी थप्दै जाने तयारी छ । पहिलो वर्ष १ सय, दोस्रो वर्ष ३ सय सवारीसाधन एसेम्बल गरेर तेस्रो वर्ष वार्षिक १ हजारओटा सवारीसाधन एसेम्बल गर्ने तयारी गरिएको उनले बताए । ‘अबको १५ दिनभित्र शिलान्यास गर्ने योजना छ,’ उनले भने, ‘शिलान्यासका लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथिका लागि निवेदन दिएका छौं ।’ साउनभित्र शिलान्यास गरिसकेर काम शुरू गर्ने र आगामी आर्थिक वर्ष २०७८/७९ भित्र सय सवारी एसेम्बल गरिसक्ने तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले ८ बिगाहा १० कट्ठा जग्गा दिने भएको छ ।

नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले कम्पनीलाई जग्गा लीजमा दिने सम्झौता भएको जानकारी दिए । उनका अनुसार कम्पनीले वार्षिक ६ लाख भाडा बुझाउने गरी नगरपालिकासँग कम्पनीले सम्झौता गरेको छ ।

कम्पनीले नगरपालिकालाई पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता गरेको छ । साथै, कम्पनीले नाफाको १ प्रतिशत रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले असार १५ गतेको सर्वदलीय बैठकमा प्रस्ताव गर्दै १६ गतेको नगरसभामार्फत सुन्दरलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

आफूहरूले विद्युतीय जीप, कार, भ्यान, एम्बुलेन्स र बससमेत एसेम्बल गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष थापाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)