ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट उत्पादनमा पहिलोपटक ४३ र ५३ ग्रेड कार्यान्वयन

बाह्य बजारमा प्रतिस्पर्धा गर्न सहज, लागत घटाउन चुनौती

२०७८ असार, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले सिमेन्ट उत्पादनमा पहिलोपटक थप दुईओटा ४३ र ५३ ग्रेड कार्यान्वयनमा ल्याएको छ । अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)मा हाल ३३ ग्रेड प्रचलनमा रहेको भए पनि ४३ र ५३ ग्रेडको उत्पादन भने प्रयोगमा आएको थिएन । नेपाल गुणस्तर तथा नापतौल विभागले हाल यी ग्रेडमा सिमेन्ट उत्पादन तथा प्याकिङ गर्न अनुमति दिइसकेको छ ।

विभागले शिवम्, मारुती र युनाइटेड सिमेन्ट उद्योगलाई ५३ ग्रेडको अनुमति दिइसकेको छ भने विभिन्न १५ कम्पनी अनुमतिका लागि प्रक्रियामा छन् । यससँगै अब सिमेन्ट उत्पादकहरूले ओपीसीको प्याकिङमा उक्त तीनओटा ग्रेड अनिवार्य उल्लेख गर्नुपर्नेछ । विभागले २०७७ चैत १ गते नै ओपीसीमा ग्रेडको अनुमति लिन सूचना जारी गरिसकेको थियो । त्यसको ३ महीनापछि पहिलो ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा प्याकिङका लागि उद्योगहरूले आवेदन दिन शुरू गरेका छन् ।

विभागका अनुसार पटक शिवम्, मारुती र युनाइटेड सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न इजाजत पाइसकेका छन् । सिमेन्ट उत्पादनको इजाजत विभागबाट पाएसँगै शिवम्ले यसको उत्पादन शुरू गरिसकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ती उद्योगले ग्रेड इजाजत पाएको पुष्टि गरे । यी दुवैको स्ट्रेन्थ (बलियोपना)को मापन २८ दिनको हुने उनले बताए ।

२८ दिनमा न्यूनतम ५३ मेगापास्कल अर्थात् यो फोर्स धान्न सकेमा ५३ ग्रेड र सोही अवधिमा मेगापास्कल ४३ पुगेमा त्यस्तो सिमेन्टलाई ४३ ग्रेडको मानिन्छ । सिमेन्ट प्रयोग गरेपछि जम्ने अर्थात् कतिसम्म कडापन हुन्छ र त्यो कति बलियो हुन्छ भन्ने २८ दिनमा थाहा हुन्छ । विभागले सिमेन्टको जम्ने अवस्थाको परीक्षण ३ दिन, ७ दिन र २८ दिनमा हेर्ने गरिएको पुडासैनीले बताए । ३३ ग्रेडको पनि २८ दिनमा स्ट्रेन्थ हेरिन्छ ।

नेपालमा स्ट्यान्डर्ड बनाएपछि यसरी ग्रेडिङमा सिमेन्ट उत्पादन हुन थालेको पहिलोपटक भएको उनले बताए । विभागले नेपाल गुणस्तर ५७२ः२०७६ ले तोकेअनुसार सिमेन्ट ग्रेड निर्धारण गरेको हो । विभागका अनुसार शुभश्री, अग्नि, रिद्धिसिद्धि र सर्वाेत्तमले भने ४३ ग्रेडको अनुमति पाएका छन् ।

भारतकै मापदण्ड हेर्दा पनि यही ग्रेड प्रचलनमा रहेकाले नेपाल र भारतको सिमेन्टको गुणस्तरमा कुनै कमी नहुने पुडासैनीले बताए । भारतमा पनि ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुन्छ । नेपालले कतिपय आयोजना निर्माणमा भारतबाट सिमेन्ट खरीद गर्ने गरेको छ । अहिले नेपालमै पनि सोही ग्रेडको मापदण्ड लागू भएपछि बाह्य बजारमा नेपाली सिमेन्टले प्रतिस्पर्धा गर्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपि नेपालको सिमेन्टको उत्पादन लागत तुलनात्मक रूपमा बढी भएकाले लागत मूल्य घटाउन चुनौतीपूर्ण देखिएको छ ।

अग्नि सिमेन्टका प्रबन्ध निर्देशक (एमडी) ताराप्रसाद पोखरेलले ग्रेड तोकिँदा आयोजनाहरूमा काम गर्न तथा उपभोक्तालाई थप सजिलो हुने बताए । ‘सामान्य स्थानमा ४३ ग्रेड प्रयोग गरिने भए पनि छिटोछिटो बलियोपन प्राप्त गर्नुपर्ने स्थान तथा आयोजनाहरूमा ५३ ग्रेड प्रयोग गरिन्छ,’ पोखरेलले भने ।

नेपालमा यी दुई ग्रेडिङ प्रणाली कार्यान्वयनमा नल्याउँदा ओपीसीको न्यूनतम ३३ ग्रेड हुनुपर्ने व्यवस्था गरिएको हो । तर, सिमेन्ट उत्पादन भने ४३ र ५३ ग्रेडकै उत्पादन हुँदै आएको उनले बताए । ‘ग्रेड मात्रै नलेखिएको हो, उत्पादन त गुणस्तरीय र यी ग्रेडअनुसार नै उत्पादन हुँदै आएको छ,’ उनले भने । सरकारले नै ग्रेड कार्यान्वयनमा ल्याएपछि थप सहज भएको तर पहिलादेखि नै उत्पादन सोही गुणस्तरमा हुँदै आएको उनको भनाइ छ ।

अब आयात प्रतिस्थापन गर्न सजिलो हुने उनले बताए । पहिला मापदण्डअनुसार नै भए पनि विभिन्न बहानाबाजी गरेर नेपाली सिमेन्ट प्रयोग गर्नबाट पन्छाइने गरिएको भन्दै उनले ग्रेड नै लेखिने र देखिने भएपछि प्रयोगमा सहज हुने बताए । यसैगरी आत्मनिर्भर उन्मुख सिमेन्ट उद्योगले निर्यातका लागि सरकारसँग माग गर्दै आएकोमा सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा पनि सिमेन्टलाई निर्यात योग्य वस्तुमा राखेको छ ।

ग्रेड प्रणाली लागू भएपछि निर्यातमा पनि सहज र बाह्य बजारसँग प्रतिस्पर्धा गर्न सहज हुने पोखरेलको भनाइ छ । यद्यपि लागत बढी हुँदा प्रतिस्पर्धामा चुनौती देखिएको उनले बताए । नेपाल भारतको गुणस्तर मापदण्ड एकै प्रकारको भएपछि निर्यातका लागि सहज हुने अपेक्षा गरिए पनि अब प्रतिस्पर्धी मूल्य बनाउनु चुनौतीपूर्ण भएको व्यवसायीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)