असार २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४० वर्ष उमेर पूरा गरेका विदुर तथा एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो ।
महाशिला गाउँपालिका विगत वर्षमा सुत्केरी स्याहार कार्यक्रम, किसानलाई प्रतिफलमा आधारित अनुदान, गाउँ फर्क प्याराप्यारी, एक घर एक टनेल, एक घर एक रोजगारी लगायतका कार्यक्रमबाट लोकप्रिय छ । यसवर्ष विदुर तथा एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याएपछि जिल्लाभर चर्चित बनेको छ ।
यस्तै अपांगताको ‘ग’ र ‘घ’ वर्गमा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए । कतिपय विदुर तथा एकल पुरुषहरुलाई जीवन गुजारा चलाउन समस्या भएकाले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
त्यस्ता पुरुषलाई नेपाल सरकारले भत्ता नदिँदा दैनिकी गुजार्न अप्ठ्यारो परेको तथा ‘ग’ तथा ‘घ’ वर्गका अपांगता भएकाहरूलाई पनि सम्बोधन नभएका कारण छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको उचैले बताए ।
‘एकल महिलाले भत्ता पाउँछन्, तर एकल पुरुषले भत्ता नपाउँदा उनीहरूको दैनिकीमा समस्या परेको हामीले देखेका छौँ । उनीहरूको विषयमा पनि महाशिला चिन्तित छ’ उनले भने, ‘छैटौं गाउँ सभाबाट यसलाई पारित गरिएको छ । अब कार्यान्वयनमा जान्छौं ।’
यो कार्यक्रमले समस्यामा रहेका, सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक भएकाहरूलाई सम्बोधन गरेको उनले बताए । गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले यसको कार्यान्वयनको लागि अब कार्यविधि निर्माण गरिने र विदुर तथा एकल पुरुषलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरिएको बताए । ‘सामाजिक रूपमा समस्यामा परेकाहरूलाई सामाजिक भत्ता दिन सकियो भने उनीहरूलाई ठूलो राहत हुन्छ ।
सबै नागरिकले सामाजिक सुरक्षाको अनुभूति गर्नसके भने स्थानीय सरकारले गरेको असल काम हुन्छ त्यो’ उनले भने, ‘महाशिलाले यस्ता थुप्रै खालका कार्यक्रमहरू विगतमा पनि ल्यायो जसले आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति भयो ।’ अन्य सामाजिक भत्ता लिइरहेका व्यक्तिलाई भने यो भत्ता नदिने उनले बताए । महाशिलामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको संख्या करीब ४० जनाको हाराहारीमा रहेको प्रवक्ता उचैले बताए ।
गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगतामा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपांगता भएका ‘क’ र आंशिक अपांगता भएका ‘ख’ वर्गले संघीय सरकारबाट नै अपांगता भत्ता पाउँदै आएका छन् । गाउँपालिकामा ‘ग’ र ‘घ’ वर्गको अपांगता भएकाहरूको संख्या करीब १०० रहेको छ ।