ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंक खाता कुल जनसंख्याभन्दा अधिक : पुरुषको साढे ४५%, महिलाको ३१.९५% नियमित

२०७८ असार, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन ।

एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्याभन्दा खातासंख्या अधिक देखिएको हो । २–३ ओटा बैंकमा खाता खोल्ने तर सबै खातालाई नियमित सञ्चालन नगरेकाले धेरै खाता निष्क्रिय रहेका छन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९९ लाख ७४ हजाार ३ सय ६० रहेको छ । बैंकहरूको कुल रजिस्टर्ड खाता भने ३ करोड १९ लाख १० हजार हाराहारीमा पुगेको छ । तर, साढे ७७ प्रतिशत खाता मात्र सक्रिय छन् । बाँकी साढे २२ प्रतिशत खाता निष्क्रिय रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा ७१ लाख ८१ हजार रहेको छ । २ करोड ४७ लाख २९ हजार खाता सक्रिय रूपमा नियमित सञ्चालनमा छन् ।

लिंगगत आधारमा हेर्दा पुरुषहरूको खाता नियमित सञ्चालनमा बढी देखिएको छ । महिलाहरूको कम छ । हालसम्म कुल सक्रिय खातामध्ये ४५ दशमलव ५४ प्रतिशत अर्थात् १ करोड ४५ लाख ३२ हजार पुरुषको खाता नियमित सञ्चालनमा रहेको छ । कुल सक्रिय खातामध्ये दशमलव ३१ दशमलव ९५ प्रतिशत अर्थात् १ करोड १ लाख ९७ हजार महिलाको खाता नियमित सञ्चालनमा रहेको छ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खातालाई निष्क्रिय (डोरमेन्ट) खातामा राख्नुपर्छ । ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरिएको छ ।

निक्षेप खातामा लामो समयसम्म कारोबार भएको छैन तर रकम थुप्रो छ भने बैंकका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेन्ट भनी लक गरेर राखिने गरेको बैंकरहरू बताउँछन् । खातावाला स्वयम् आए पनि केही डकुमेन्ट बुझाएपछि मात्र खाता सक्रिय हुन्छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालका अनुसार एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा यस्ता खाताको संख्या बढेकोे हो ।

सरकारले अघिल्लो वर्षदेखि सबै नागरीकको बैंकमा पहुँच पुर्‍याउने उद्देश्यले रू. १ सयमा बैंक खाता खोलाैं अभियान शुरू गरेको छ । अभियानअन्तर्गत अधिकांश बैंकले शून्य मौज्दातमा खाता खोल्ने पनि गरेका छन । तर, त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि पनि अधिकांश खाता निष्क्रिय भएको हुनसक्ने बैंकरहरूको भनाइ छ ।

बैंकरहरू ग्राहकको खाता सुरक्षित गर्न पनि निष्क्रिय खातामा परिणत गर्न जरुरी भएको औंल्याउँछन् । ‘दशौं वर्षदेखि कारोबार नभएका खाताहरूको रकम कर्मचारीबाट हिनामिना नहोस् भनेर पनि यस्तो व्यवस्था गरिएको हो । कोही व्यक्ति विदेश गएका होलान् । यहाँ २–३ ओटा खाता होला । यस्तो अवस्थामा कारोबार नभएका खाता निष्क्रिय भए पनि ग्राहक आएमा प्रक्रियाअनुसार खुलाइन्छ,’ दाहालले भने ।

नियमित नभएका अर्थात् निष्क्रिय भएका खातालाई पुनःसक्रिय बनाउन ग्राहकले सम्बद्ध बैंक शाखामै गएर निवेदन दिनुपर्ने हुन्छ । लामो समयदेखि निष्क्रिय रहेका र पहिले ग्राहक पहिचान विवरण (केवाईसी) नबुझाएका ग्राहकले भने उक्त विवरण समेत भरेपछि मात्र खाता फेरि सक्रिय हुने र नियमित कारोबार गर्न सकिनेछ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महीनाभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने छ । साथै, यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बद्ध बैंक वा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा एकपटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने र यसको विस्तृत विवरण आफ्ना वेबसाइटमा समेत राख्नुपर्ने व्यवस्था छ ।

२० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम भने राष्ट्र बैंकको बैंकिङ विकास कोष’ मा जम्मा हुने व्यवस्था छ । तर, सरकारी स्वामित्वका बैंकबाहेक अरू बैंक सञ्चालनको अवधि धेरै नभएकाले २ दशक अवधिका निष्क्रिय खाता भने खासै नभएको र यसको यकिन गणना भने नभई सकेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)