ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय रिले पायो सञ्चालन स्वीकृति

२०७८ असार, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निजीक्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट अन्तिम स्वीकृृति पाएको छ । बीमा समितिले गत बिहीवार कम्पनीलाई व्यवसाय अर्थात् कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो ।

समितिले गत जेठ १७ गते हिमालयन रिलाई स्थापनाका लागि आशयपत्र अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि कम्पनीले तोकिएको आवश्यक प्रक्रिया पूरा गरेपछि कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिइएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन रिलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको बताए ।

समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भयो भने संस्थापकतर्फको रू. ७ अर्बको लगानी पनि बैंकमा जम्मा गर्ने काम भयो । यसबाहेक बालुवाटारमा कम्पनीको कार्यालय स्थापना गर्ने, कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गर्नेलगायत आवश्यक प्रक्रिया पूरा भएपछि समितिले कम्पनीलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो ।

बीमा समितिबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी पक्ष कारोबार सञ्चालनका लागि तयारीमा जुटेको छ । चालू आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र नै कारोबार सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताए । ‘पुनर्बीमा व्यवसाय शुरू गर्न आवश्यक तयारी पूरा भइसकेको छ । असार महीनाभित्र नै कम्पनी सञ्चालनमा ल्याउनेछौं,’ अध्यक्ष गोल्छाले भने ।

कम्पनीले कारोबार शुरू गर्ने उल्लेख गर्दै बीमा समितिलाई आइतवार पत्राचार पनि गरिसकेको छ । सोही पत्रअनुसार बीमा समिति आज (सोमवार) कम्पनीको बालुवाटारस्थित प्रधान कार्यालयमा निरीक्षण गर्न जाने तयारीमा छ । निरीक्षणको क्रममा कम्पनीले नीतिगत रूपमा तोकिएको केही शर्तहरू पूरा भएको देखिनुपर्ने छ । त्यसपछि कम्पनी सञ्चालनमा आउन सक्ने समितिका एक उच्च अधिकारीले बताए । निरीक्षणका क्रममा कम्पनीले कार्यालयको आकार, कम्प्युटर सप्mटवेयर, कर्मचारीलगायत बिषयमा तोकिएको शर्त पूरा गरेको देखिनुपर्ने छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृतलगायत उच्च तहका ३ जना जनशक्ति भने विदेश (भारत) बाट ल्याउने तयारी गरेको छ । त्यसरी विदेशबाट ल्याइने कर्मचारीले श्रम विभागबाट श्रमस्वीकृति पनि लिनुपर्ने हुन्छ । त्यसका लागि कम्पनीले आवश्यक सहजीकरण गर्न तथा नियुक्तिका लागि स्वीकृति दिन समितिमा आवेदन पनि दिइसकेको छ । समितिको एक स्रोतका अनुसार कम्पनीले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा विदेशी जनशक्ति नियुक्तिका लागि स्वीकृति माग गर्दै आवेदन दिइसकेको छ ।

पुनर्बीमा अन्तरराष्ट्रिय रूपमा नै गरिने व्यवसाय हो । त्यसमाथि हिमालयन रिलाई व्यवसाय विस्तारका लागि विदेशी बजारमा जानैपर्ने बाध्यता छ । त्यसैले पनि विदेश बजारमा व्यवसाय विस्तार गर्न सहज हुने उद्देश्यअनुरूप विदेशबाट नै उच्च पदस्थ कर्मचारी ल्याउन लागिएको कम्पनी पक्षको भनाइ छ ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । समितिको एक अध्ययनले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले गत वैशाखमा निजीक्षेत्रको स्वामित्व हुनेगरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका थिए । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।

निजीक्षेत्रको स्वामित्वमा लगानी भएको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्बको रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेर जुटाइने कम्पनीको भनाइ छ ।

कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)