ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देउवा पाँचौंपटक प्रधानमन्त्री

२०७८ असार, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथग्रहण गराउनुभयो ।

सर्वोच्चले सोमवार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा दिएको परमादेशअनुसार देउवालाई प्रममा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बताएको थियो । तर, पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै शपथ लिन नमान्दा निर्धारित समयमा देउवाको शपथग्रहण हुन सकेन ।

राष्ट्रपति कार्यालयले पत्र सच्चाएर संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरेपछि देउवाले राष्ट्रपतिबाट मंगलवार ८ बजेर ४० मिनेटमा प्रधानमन्त्रीका रूपमा शपथ लिनुभयो ।

पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा २००३ साल जेठ ३१ गते असिग्राम रूवाखोला, गन्यापधुरा गाउँपालिका–१ डँडेलधुरामा जन्मिनुभएको थियो । देउवा २०२२ देखि कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ नेविसंघको संस्थापक सदस्यदेखि २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा अक्षम घोषित गरी प्रधानमन्त्रीबाट बर्खास्तमा समेत पर्नुभएको थियो ।

२०५६ मा तत्कालीन विद्रोही माओवादीसँग वार्ताका निम्ति गठित उच्चस्तरीय कमिटीको सभापति पनि हुनुभएको थियो ।

सर्वोच्चको परमादेशअनुसार सरकारको नेतृत्व सम्हाल पुग्नुभएका देउवाले संसद्बाट अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उहाँले विश्वासको मत नलिन नसके प्रतिनिधिसभा स्वतः विघटन भई देश मध्यावधि चुनावमा जानेछ । अहिले देउवालाई विश्वासको मत लिनु नै मुख्य चुनौती छ भने कोरोना संकटमा रहेको देशलाई माथि उठाउनसमेत देउवामाथि ठूलो चुनौती रहेको छ ।

सानो आकारको मन्त्रिमण्डल गठन
शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेसँगै मंगलवार नै पाँच सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । देउवाको मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री भएका छन् । खाँडलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ भने कार्कीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी भएका छन् । शर्मालाई अर्थमन्त्री बनाइएको छ भने भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ । देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी–जसपा पनि सहभागी हुने चर्चा चले पनि मन्त्रालयको टुंगो नलागेसम्म आफ्नो पार्टीबाट कसैलाई सरकारमा नपठाउने निर्णय मंगलवार उक्त पार्टीको बैठकले गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)