ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झोलुंगे पुलले सहज बनायो स्थानीयको दिनचर्या

२०७८ असार, ३१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका दुई गाउँ जोड्ने झोलुंगे पुल बनेपछि स्थानीय बासिन्दाको दिनचर्या सहज बनेको छ । दुई गाउँ पाखापानी र कोटगाउँ जोड्न जिल्लाकै दोस्रो लामो झोलुंगे पुल निर्माण गरिएको हो । पुल नुहुँदा कोटगाउँका बासिन्दा पाखापानी आउन एक घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यो समय १५ मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानी र कोटगाउँलाई जोड्नेगरी २ सय ६५ मिटर लामो पुल निर्माण गरेको हो । पुल निर्माणका लागि हिमशिखर जयलक्ष्मी जेभी बागलुङसँग भ्याटबाहेक २ करोड २ लाख रुपैयाँमा २०७६ चैतमा ठेक्का सम्झौता भएको थियो ।

झोलुंगे पुल निर्माण भएसँगै दुई गाउँका स्थानीय लाभान्वित भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । पुल नहुँदा खोलानाला, भीरपहराबाट यात्रा गर्न बाध्य सर्वसाधारणलाई पुल बनेसँगै आवतजावतमा सहज हुनुका साथै समयको समेत बचत भएको भनाइ छ ।

पाखापानी गाउँमा रहेका विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरवासी पुल बनेपछि उत्साहित भएको कोटगाउँका गमबहादुर घर्तीले बताए । ‘हामीलाई पहिला निकै असहज र बर्खाको समयमा निकै गाह्रो हुने गरेको थियो, अहिले यो पुलले निकै सुविधा भएको छ,’ घिमिरेले भने ।

कोरोना महामारीको समयमा पनि निर्माण व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गरेर कामलाई निरन्तरता दिएकाले एक महीनाअगावै पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए । निर्माण व्यवसायी र स्थानीयवासीको सक्रियताका कारण पुल सम्झौता अवधिअघि नै सम्पन्न गर्न सकिएको उनको भनाइ छ ।

म्याग्दीमा यस वर्ष अन्य तीन स्थानमा पनि झोलुंगे पुल निर्माण भएको कार्यालयले बताएको छ । कार्यालयका इन्जिनियर केशव श्रेष्ठका अनुसार मंगला गाउँपालिकाको सिमलचौरदेखि लुलियाघाट जोड्ने म्याग्दी नदीमाथि, अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुंगे पुल निर्माण भएका हुन् ।

आगामी आर्थिक वर्षका लागि आठओटा झोलुंगे पुल निर्माणको चरणमा रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पुल निर्माण भएपछि २० हजारभन्दा बढी जिल्लावासी लाभान्वित हुने कार्यालयले बताएको छ ।

नवनिर्मित पाखापानी कोटगाउँ जोड्ने पुल पर्यटनका दृष्टिले समेत महŒवपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यसअघि रघुगंगा गाउँपालिकाको वडा नं. १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)