ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीडीपीको आकारभन्दा बैंकहरूको कुल निक्षेप अधिक

२०७८ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।

केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको निक्षेपलाई आव २०७६/७७ को जीडीपीसँग तुलना गर्दा जीडीपीभन्दा निक्षेप १४ दशमलव ३४ प्रतिशत बढी रहेको देखाउँछ । गत आवको जीडीपीको आकार चालू आवभन्दा कम अर्थात् रू. ३९ खर्ब ४३ अर्ब हाराहारीमा रहेको थियो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप रू.३९ खर्ब ९३ अर्ब ८९ करोड रहेको छ । यस्तै, १८ ओटा विकास बैंकको कुल निक्षेप ४ खर्ब १५ अर्ब ७६ करोड रहेको छ भने २० ओटा वित्त कम्पनीहरूको निक्षेप रू. १ खर्ब ७२ करोड रहेको छ । जीडीपीभन्दा निक्षेपको आकार बढिरहँदा बैंकिङ कारोबारको मात्रा राम्रै गतिमा बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कारोबार बढे पनि जीडीपीको आकार भने बढ्न सकेको छैन । यसले आर्थिक वृद्धि बढ्न नसकेको पनि देखाउँछ ।

बैंकमा निक्षेप बढ्ने क्रम देखिएकाले भने सर्वसाधारणले घरमा पैसा राख्नभन्दा पनि बैंकमा राख्ने बानी बढेको आकलन गर्न सकिने बैंकरहरू बताउँछन् । पूर्वबैंकर तथा राष्ट्र बैंकका पूर्वकर्मचारी टेकनाथ पोखरेल बैंकहरूको निक्षेपको वृद्धिलाई हेर्दा जीडीपीको वृद्धि भने कम भएको आकलन गर्छन् ।

बैंकहरूको निक्षेप बढे पनि आन्तरिक उत्पादन बढ्न नसकेको अर्थविद्हरू औंल्याउँछन् । रेमिट्यान्सका कारण निक्षेप धेरै बढे पनि यसले आर्थिक वृद्धिदर कायम गर्न सहयोग नगर्ने अर्थविद् केशव आचार्यको भनाइ छ । वित्तीय विकास चरम भएको देशमा जीडीपीभन्दा निक्षेप तथा कर्जाजस्ता बैंकिङ कारोबार ठूलो हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘जीडीपीभन्दा बैंकको कारोबारको आकार बढ्नु भनेको अर्थतन्त्रको मौद्रिकीकरण पूरा हुनु हो ।’

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने जीडीपीको तुलनामा ९८ प्रतिशत रहेको छ । गत जेठसम्म कुल कर्जा प्रवाह रू. ४० खर्ब ९५ अर्ब पुगेको छ । कर्जा निक्षेपको आकार बढ्नु भनेको वित्तीय पहुँच र विकास बढेको अर्थविद् आचार्य बताउँछन् ।

अहिले पूँजी बजारको आकारले पनि जीडिपीको आकारलाई टक्कर दिन लागेको छ । बजार पूँजीकरणको आकार जीडीपीको आकारको तुलनामा ९३ दशमलव ६१ प्रतिशत पुगेको छ । अर्थात् नेपाल स्टक एक्सचेन्जको असार २९ गतेसम्मको तथ्यांकमा कुल बजार पूँजीकरण रू. ३९ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ । यसरी बजार पूँजीकरणको आकार पनि बढ्दै जानुमा अर्थविद् आचार्य भने नेपालमा वित्तीय सरलता बढेको तर्क गर्छन् । विकसित मुलुकमा जीडीपीभन्दा वित्तीय आकार धेरै बढी हुनेगरेको छ । यो सकारात्मक पक्ष भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)