ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–जयनगररेलवे ट्र्याक परीक्षण सफल

नियमित सञ्चालनका लागि सरकारको निर्णय पर्खिंदै

२०७८ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । ३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण सफल भएसँगै नेपालले गत असोज २ गते खरीद गरी पार्किङमा राखेका दुईओटा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित रूपमा ती रेल कहिले सञ्चालन हुन्छन् भन्ने विषय भने यकिन भइसकेको छैन ।

अन्तरदेशीय रेलमार्ग सञ्चालनका लागि नेपाल रेलवे कम्पनीले आइतवार भारतको रेल ल्याएर ट्र्याक परीक्षण गरेको हो । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भारतको विहारस्थित जयनगर स्टेशनदेखि नेपालको जनकपुर कुर्था स्टेशनसम्म परीक्षणका लागि सञ्चालन गरिएको रेल २३ मिनेटमा आइपुगेको जानकारी दिए । जयनगरबाट नेपालकोे रूटमा आउँदा लगभग प्रतिघण्टा ६० किलोमीटर (किमी)को गति रहेको भन्दै उनले जनकपुरको कुर्था स्टेशनबाट फर्किंदा भने प्रतिघण्टा ११५ किमीको गति रहेको जानकारी दिए । 

‘परीक्षण र सर्टिफिकेशन गर्ने काम भारतीय पक्षको हो,’ भ्यराईले भने, ‘ट्र्याकका संरचनाको वस्तुस्थिति थाहा नहुँदै नयाँ रेल परीक्षणमा लैजाँदा क्षति हुने सम्भावना भएकाले भारतीय रेलबाट परीक्षण गरिएको हो,’ उनले भने । परीक्षण र सर्टिफिकेशनको काम सफल भएसँगै कम्पनी नियमित रूपमा रेल चलाउन तयारी अवस्था रहेको उनको भनाइ छ । नयाँ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेतृत्व आएपछि र दुवै देशको समन्वयमा मिति तोकी औपचारिक उद्घाटन भएपछि मात्रै रेल नियमित चल्ने उनको भनाइ छ ।

‘भाडादर, जनशक्ति र ट्र्याक परीक्षणसमेत सफल भएकाले यो रूटमा रेल सञ्चालन गर्न तयारी अवस्थामा छौं,’ भट्टराईले भने, ‘तर, औपचारिक रूपमा उद्घाटन र भवन तथा अन्य संरचना भारततर्पmबाट हस्तान्तरण नहुँदासम्म नियमित सञ्चालन गर्न सकिँदैन ।’ परीक्षण तथा जनशक्ति तयारी अवस्थामा भएसँगै अब सरकारले मन्त्रालयमा कहिले नेतृत्व पठाउँछ भन्ने निर्णयको पर्खाइमा कम्पनी रहेको छ ।

रेल सञ्चालनका लागि भाडादरसमेत निर्धारण गरिएको छ । न्यूनतम रू. १५ सम्म तोकिएको र प्रतिघण्टाका हिसाबले रू. २ थपिँदै जाँदा उक्त रूटमा आवतजावत गर्दा प्रतियात्रुले रू. ७५ सम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ । महाप्रबन्धक भट्टराईले भारतको रेलवे र नेपालका सार्वजनिक बसहरूको भाडादरलाई हेरेर रेलको भाडादर तोकिएको बताए । बसको भन्दा रेलको भाडादर महँगो हुनु हुँदैन भन्ने उद्देश्यले सामान्य सीट तथा स्ट्यान्डवाइ (उभिएर) यात्रा गर्दा उक्त रकम तिर्नुपर्ने व्यवस्था गरिएको भन्दै उनले रेलमा डिलक्स सीट पनि भएकाले त्यसमा यात्रा गर्न चाहनेको लागि प्रतियात्रु रू. ३०० भाडादर कायम गरिएको बताए । 

रेलमा ७६ ओटा डिलक्स सीट रहेका छन् । यससँगै सामान्य सीट तथा उभिएर एउटा रेलमा झन्डै १३ सय मानिसले यात्रा गर्न सक्छन् । रेल सञ्चालनका लागि कम्पनीले केही साताअघि भारतीय रेलसम्बद्ध अधिकारीबाट नेपालका ९० जनालाई विभिन्न किसिमको तालीम दिइसकेको छ भने भारतका २६ जना अधिकारी रेल सञ्चालनका मुख्य कार्यका लागि तयारी अवस्थामा छन् । 

गत असोज २ गते जनकपुरको इनरवामा दुईओटा रेल ल्याएर पार्किङ अवस्थामा राखिएको छ । पटक–पटक रेल सञ्चालन गर्ने मिति तोकिए पनि अहिलेसम्म कहिलेदेखि रेल चल्छ भन्ने यकिन हुन सकेको छैन । सरकारले मन्त्रालयमा मन्त्री नियुक्त गरेसँगै रेल सञ्चालनले गति लिने कम्पनीको आकलन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)