ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीडले खोप केन्द्र ‘अस्तव्यस्त’ !

प्रधानमन्त्रीको निर्देशन भएन पालना

२०७८ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं  । कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकारले सीमित खोपकेन्द्र तोक्दा अत्यधिक भीडभाडले राजधानीका केन्द्रहरू नै ‘अस्तव्यस्त’ बनेका छन् ।

‘खोप’ को प्रतीक्षामा ठूलो संख्यामा मानिसहरू लाइनमा बस्दा सरकारले तोकेको केन्द्रहरूलाई धान्नै कठिन भएको हो । सोमवार मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको स्थिति ‘असामान्य’ बन्यो ।

एकैदिन १ हजारभन्दा बढी लाइनमा बस्दा उक्त खोप केन्द्रलाई भीड धान्नै मुश्किल परेपछि प्रहरी नै लगाएर भीड हटाउनु परेको छ । अमेरिका सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप लगाउन लाइनमा बसेकाहरूको भीड धेरै भएको भन्दै प्रहरी लगाएरै उनीहरूलाई फिर्ता पठाउनु परेको हो ।

५३/५४ वर्षका, सफाइकर्मी, स्वास्थ्यकर्मीसहित विदेश जानेहरूका लागि खोप दिने तयारी थियो । तर, भीड थेगिनसक्नु भएको भन्दै टेकु अस्पताल खोप केन्द्रबाट पासपोर्टसहित खोपका लागि पुगेका आफूहरूलाई प्रहरी लगाएर हटाइएको मलेशिया जाने तयारीमा रहेका बाग्लुङका रमेश सेन्चुरीले बताए ।

साउदीमा रोजगारीका लागि जान लागेका मोरङका महेश गौतमले आप्mनो भिषा अवधि ४ दिन मात्रै रहेको बताउँदै खोप लगाउन टेकुस्थित केन्द्रमा पुग्दा नलगाई फर्कनु परेको दुखेसो पोखे । ‘४ दिनमा भिषा सकिँदै छ, आज ५ घण्टा कुर्दासमेत खोप पाइएन, खोप कहिले लगाउन पाइने हो, निधै भएन,’ उनले भने ।

उनीहरूजस्ता टेकु खोप केन्द्र पुगेका विदेश जाने तयारीमा रहेका र खोप लगाउन नपाएहरूको एउटै गुनासो थियो, भिसा सकिन लाग्यो खोप नै लगाउन पाइएन । खोप लगाएर काम गर्न जान पाउनुपर्ने समेत उनीहरूको माग छ ।

सात सय जनालाई पुग्ने खोप रहेको भए पनि ठूलो संख्यामा मानिसहरू भीड लागेपछि प्रहरीको सहायता खोपकेन्द्रमा पुगेकाहरूलाई हटाउनुपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अधिकारीहरूले बताए ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार आफूहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको निर्णयअनुसार विदेश जानेहरूलाई खोप लगाउन शुरू गरेको र खोप स्टक रहँदासम्म निरन्तरता दिइने बताए । सबैलाई खोप लगाउन प्रयास भइरहेकाले सबैले पाउने उनको भनाइ छ । भीडभाड हुनुमा आफूहरूको दोष नरहेको गौतमले बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखा मातहत खोप वितरण गरिने भएकाले यसमा अस्पतालको हात हुँदैन,’ गौतमको भनाइ थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबहाली गरेलगत्तैबाट बारम्बार स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई डाकेर खोप केन्द्रहरू थप गर्न र खोप अभियानलाई व्यवस्थित गर्न निर्देशन दिँदै आउनु भए पनि त्यसको कार्यान्वयन नहुँदा खोप केन्द्रहरू अव्यवस्थित बन्न पुगेका हुन् । खोपकेन्द्र अस्तव्यस्त बनिरहँदा सोमवार नै प्रधानमन्त्री देउवा अनुगमनमा निस्कनुभएको थियो । प्रम देउवाले सोमवारदेखि शुरू भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ अभियानको विभिन्न केन्द्रमा पुगेर अनुगमन गर्नुभयो तर टेकु खोप केन्द्रको भने उहाँबाट अनुगमन भएन । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौं उपत्यकाका नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर अनुगमन गर्दा खोप केन्द्रहरूमा भीडभाड नै देखिन्थ्यो । त्यस क्रममा उहाँले खोप केन्द्र थप व्यवस्थित गर्नसमेत निर्देशन दिनुभएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)