ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतको लेकाली बस्तीमा व्यावसायिक सतुवाखेती

२०७८ सावन, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । बहुमुल्य जडीबुटीको रूपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरू गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–६ शालिजा र ९ बनौमा यस वर्षदेखि व्यावसायिक रूपमा सतुवाको खेती थालिएको हो ।

उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । १ हजार ८०० देखि ३ हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने सतुवा भारत र चीन निकासी हुँदै आएको छ ।

सतुवाबाट मनग्गे आम्दानी गर्ने उद्देश्यले ५० भन्दा बढी कृषकले यसको खेती शुरू गरेका हुन् । बस्तीभन्दा माथि रहेको हम्पालको जंगलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बीउ किनेर खेती शुरू गरेका छन् ।

बनौका देउप्रसाद फगामी, रामबहादुर गर्बुजा, धनबहादुर फगामी, टकमाया फगामी, प्रेम पुन, गौबहादुर पुन, टमप्रसाद पुन लगायत कृषकले व्यावसायिक रूपमा सतुवाखेती गरेको जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । यस्तै जलजलाका १ दर्जनभन्दा बढी कृषकले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले बताएको छ । कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती शुरू गरिएको छ । अहिले अधिकांश कृषकले बिरुवा तयार गरिएको बताएका छन् ।

विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि आफूहरू यसको खेतीतर्फ आकर्षित भएको सतुवा कृषक प्रेम पुर्जाले बताए । उनका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ ।

डिभिजन वन कार्यालयले सतुवाखेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरूले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा ४ लाख रुपैयाँ अनुदान वितरण गरिएको डिभिजन वन अधिकृत मेघराज पौडेलले जानकारी दिए ।  उनका अनुसार अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना छ ।

उत्तरी पर्वतका शालिजा, लेखफाँट, बाँसखर्क, बनौं, मोदी गाउँपालिकाको भुकताङ्ले, क्याङ, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, विहादी गाउँपालिकाको उराम, महाशिलाको लुंखुदेउराली, फलामखानी, भोक्सिङ, बालाकोट, गोल्र्याङधाम लगायत क्षेत्रमा यसको सफल खेती गर्न सकिने डिभिजन वन कार्यालय पर्वतले बताएको छ ।

अहिले बजारमा हरियो सतुवा प्रतिकिलो ६ हजारदेखि  सुकेको १५  हजार रूपैयाँसम्ममा विक्री गर्न सकिने कृषक टकमाया फगामीले बताइन् । नेपालका विभिन्न शहर र छिमेकी मुलुक भारतमा समेत यसको निर्यात गर्न सकिने उनको भनाइ रहेको छ । यसको खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सके कृषकको जीवनस्तर छिटो परिवर्तन हुने सहायक वन अधिकृत केशव पुडासैनीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)