ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात खुले पनि चल्न सकेनन् सवारीसाधन

२०७८ सावन, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर रोकथामका लागि लागू गरिएको निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र सार्वजनिक यातायात खुला गरिएको छ । तर बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरोले बेनी–जोमसोम सडक सहित म्याग्दीका भित्री सडकहरू अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरू अवरुद्ध भएका हुन् ।

साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।

म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले अवरुद्ध बनेका सडक सुचारु नहुँदा यातायातका साधन सञ्चालन हुन नसकेको बताए । ‘सार्वजनिक यातायात खुला त भयो तर, सडक खुलाउन सकिएन, दिउँसो बनायो, राति पानी परेपछि पहिरो गएर अवरुद्ध हुन्छ,’ श्रेष्ठले भने, ‘जिल्लाका प्रायः सबै ग्रामीण सडक पहिरोले अवरुद्ध छन् ।’

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न ९ ठाउँमा अवरुद्ध हुने गरेको छ । यस्तै पश्चिम म्याग्दी र बागलुङका १४ ओटा गाउँ जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडककै जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुंगा सहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

जिल्लामा बेनी–बरञ्जा, बेनी–पुलाचौर र बेनी–झीँ बाहेक जिल्लाका अन्य १७ ओटा ग्रामीण सडक अवरुद्ध छन् । ६ किलोमिटर दूरीको बेनी–पुलाचौर सडक, ८ किमी दूरीको बेनी–बरञ्जा सडक र ७ किमी दूरीको बेनी–झीँ सडकमा पनि साना सवारीसाधन मात्र सञ्चालन भएका छन् । म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी तीन सडकमा पनि जीपभन्दा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरोका कारण सडक साँघुरिएकाले ठूला सवारीसाधन सञ्चालन हुन नसेकेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)