ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब रू. ५५ खर्ब बराबरको मालवस्तु भीसीटीएस प्रणालीमा

२०७८ सावन, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ ।

भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ वर्षअघि सरकारले लागू गरेको भीसीटीएस प्रणालीमार्फत अहिलेसम्म रू. ५४ खर्ब ८९ अर्ब कारोबार भएको हो ।

यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७७ असार मसान्तसम्ममा रू.२१ खर्ब ८३ अर्बको मालवस्तुको कारोबार प्रविष्ट भएको थियो । त्यसयता गत आर्थिक वर्ष अर्थात् २०७८ को असारसम्ममा मात्रै रू. ३६ खर्ब १६ अर्बको कारोबार प्रविष्ट भएको विभागको तथ्यांकले देखाउँछ ।

अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनी कठघरमा उभ्याउँदै वैध कारोबारबाट करको दायरा बढाउन सरकारले ल्याएको यो प्रणालीमा छोटो समयमा नै प्रभावकारी हिसाबले कार्यान्वयनमा ल्याउन सकिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् ।

कारोबार रकम मात्रै नभई पछिल्लो समय भीसीटीएस प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताहरू समेत बढ्दै गएका छन् । ३ वर्षको अवधिमा यो प्रणाली प्रयोगकर्ताको संख्या १ लाख २८ हजार ८ सय पुगेको छ । यो अवधिमा १ करोड ८१ लाख ७ हजार बिलहरू भीसीटीएस प्रणालीमा गत असारसम्ममा प्रविष्ट भएको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भीसीटीएस प्रणालीलाई छोटो अवधिमा नै प्रभावकारी कार्यान्वयनमा लैजान सफल भएको बताउँछन् ।

‘आयातकर्ताहरूको पूर्ण सहयोगका कारण अवैध कारोबारलाई धेरै हदसम्म नियन्त्रण गर्न हामी सफल भएका छौं,’ उनले भने । आचार्यका अनुसार गतवर्षको बन्दाबन्दीमा भन्दा यसपालिको निषेधाज्ञामा धेरै कारोबारलाई विभागले भीसीटीएस प्रणालीमा ल्याउन सफल भएको छ । यसले अवैध कारोबारी नियन्त्रण हुँदै गएको विभागको ठम्याइ छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छली र विदेशी विनिमय अपचलमा निगरानी गर्दै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालय मातहत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याई भीसीटीएस प्रणाली कडाइका साथ लागू गरेको थियो ।

यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनुको श्रेय तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा र तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीमा जाने गरेको छ ।

यसले उक्त प्रणाली लागू गर्दा चर्को विरोध खेपेका थिए । खासगरी प्रणालीबारे निजीक्षेत्र, आयातकर्ताहरूले सहज रूपमा बुझ्न नसक्दा भीसीटीएस प्रणालीबारे तत्कालीन समयमा अन्योल देखिएको थियो ।

भीसीटीएस प्रणाली भनेको एक ठाउँबाट अर्काे ठाउँसम्म मालसामान ढुवानी गर्न राजस्व अनुसन्धान विभागले प्रयोगमा ल्याएको अनलाइन फारम हो, जहाँ बिल बीजक, प्यान र भ्याट नम्बर, वस्तुको मूल्य, परिमाण, सामान पुर्‍याउनुपर्ने गन्तव्य, गाडी नम्बरलगायत भर्नुपर्छ ।

प्रारम्भिक चरणमा अस्पष्टता रहँदा आयातकर्ता अन्योलमा परे पनि सरकारी अधिकारीहरूले त्यसबारे बुझाउँदै जाँदा यो प्रणालीको कार्यान्वयन प्रभावकारी हुँदै गएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर बताउँछन् । उनका अनुसार यो प्रणालीले व्यवसायमा स्वच्छता र वैध कारोबारलाई समेत सघाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)