ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन प्रकृतिको कर्जा वृद्धि न्यून

२०७८ सावन, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । दैनिक अर्बौंको कारोबार भइरहेको पूँजीबजारमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा शेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जा लिएर पनि कारोबार गरिरहेका छन् । तर यस्तो कर्जा प्रवाहको वृद्धि भने निकै न्यून रहेको देखिन्छ ।

लगानीकर्ताले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट गत जेठसम्ममा ९४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा लिएर शेयर कारोबार गरेका छन् । यो गत वैशाखको तुलनामा २१ करोड २० लाख मात्र बढी हो । गत वैशाखसम्ममा यस्तो कर्जा प्रवाह ९४ अर्ब ३४ करोड ४० लाख रुपैयाँ हाराहारीमा थियो ।

एकै महीनामा ११ ओटा वाणिज्य बैंकको उक्त शीर्षकको कर्जा वृद्धि घटको छ । वैशाखको तुलनामा जेठमा समग्र वाणिज्य बैंकहरूको मार्जिन प्रकृतिको कर्जा वृद्धि ३५ करोड २४ लाखले घटेको छ । वैशाखमा ८१ अर्ब ६१ करोड बराबरको कर्जा प्रवाह भएकोमा जेठमा यो ८१ अर्ब २५ करोडमा सीमित रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वाणिज्य बैंकमा सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । यद्यपि उसको मासिक कर्जा वृद्धि पनि घटेको छ । बैंकले वैशाखसम्म यस्तो कर्जा ७ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेकोमा जेठमा घटेर ७ अर्ब ३३ करोडमा सीमित छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले ऋणीले बक्यौता तिर्दै गएपछि यस्तो कर्जा घटेको बताए ।

मार्जिन प्रकृतिको कर्जा धेरै लगानी गर्ने दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले यस्तो कर्जा ५ अर्ब ४८ करोड ७३ लाख प्रवाह गरेको छ ।

जेठमा १४ ओटा वाणिज्य बैंकले मार्जिन प्रकृतिको कर्जा प्रवाह बढाएका छन्, जसमध्ये नबिलसँगै राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा, नेपाल, एभरेष्ट, एनएमबि, कुमारी, लक्ष्मी, नबिल, सिद्धार्थ, सनराइज, माछापुच्छ्रे, बैंक अफ काठमाडौं र कृषि विकास बैंक छन् । ग्लोबल आईएमईसँगै मेगा, सिभिल, सिटिजन्स, सेञ्चुरी, हिमालयन, प्राइम, नेपाल क्रेडिट एण्ड कमर्श, एनआईसी, प्रभु र नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि भने घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले मार्जिन प्रकृतिको कर्जा प्रवाहमा चासो दिएको देखिँदैन ।

उक्त अवधिमा सञ्चालनमा रहेका १८ ओटा विकास बैंकको मार्जिन प्रकृतिको कर्जा ४२ करोड ४० लाखले बढेर १० अर्ब ६० करोड ८० लाख पुगेकोे छ । गत वैशाखमा यो १० अर्ब १८ करोड रहेको थियो । यस्तो कर्जा सबै विकास बैंकले भने प्रवाह गरेका छैनन् । विशेषगरी राष्ट्रिय स्तरका विकास बैंकले प्रवाह गरेका छन् ।

यस्तै सञ्चालनमा रहेका २० ओटा वित्त कम्पनीमध्ये पनि केहीले मार्जिन प्रकृतिको कर्जा लगानी गरेका छैनन् । जेठसम्ममा वित्त कम्पनीहरूको यस्तो कर्जा प्रवाह २ अर्ब ६८ करोड ९० लाख बराबरको छ, जुन वैशाखको भन्दा थप १४ करोड १० लाख बढी हो ।

मार्जिन प्रकृतिको कर्जा ग्राहकले सुरक्षण बापत राख्ने शेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था छ । यसअघि १२० कार्य दिनको मूल्यांकन गर्न पाइन्थ्यो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)