ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीहरूमा साउनभित्रै ‘गो एएमएल’ सफ्टवेयर

२०७८ सावन, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीहरूमा पनि अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको सफ्टवेयर (गो एएमएल) प्रयोगमा आउने भएको छ । बीमा समितिको नेतृत्वमा साउनभित्रै सबै बीमा कम्पनीमा यो सफ्टवेयर प्रयोगमा ल्याउन लागिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साउनदेखि नै बीमा कम्पनीमा गो एएमएल प्रयोगमा ल्याइने बताए । ‘चालू आवको वार्षिक कार्यक्रममा पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी योजना छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि साउनदेखि नै उक्त सफ्टवेयर प्रयोगमा ल्याउन लागेका हौं,’ उनले भने, ‘यो प्रयोगमा ल्याउन गत आवदेखि नै तयारी गर्दै आएका थियौं ।’

समितिले यसअघि नै सो सफ्टवेयर प्रयोगमा ल्याउन खोजेको थियो । तर, कोरोना महामारीका कारण त्यो सम्भव नभएको पौडेलको भनाइ छ । समितिले यसअघि विभिन्न पाँचओटा जीवन बीमा कम्पनीमा परीक्षणको रूपमा यो सफ्टवेयर प्रयोग गराइसकेको छ । अब  सबै बीमा कम्पनीमा प्रयोगमा ल्याइने समितिले बताएको छ ।

बीमा समितिले २०७५ मै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशका लागू गरेको थियो । त्यसको ३ वर्षपछि मात्र यो कार्यान्वयन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा भने यसअघि नै यो सफ्टवेयर प्रयोगमा आइसकेको छ । बीमा क्षेत्रमा पनि स्रोत नखुलेको सम्पत्ति भित्रिन सक्ने सम्भावना भएपछि यस्तो सफ्टवेयर प्रयोगमा ल्याउन लागिएको हो । यसका लागि विश्व बैंकले नै सफ्टवेयर बनाएको थियो । नेपालमा नेपाल राष्ट्र बैंक मार्फत उक्त सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका सीईओ निर्मलकाजी श्रेष्ठले बीमा क्षेत्रमा गो एएमएल सफ्टवेयर प्रयोगमा आउनु सकारात्मक भएको बताए । यसले बीमा क्षेत्रलाई थप पारदर्शी बनाउने उनको बुझाइ छ । ‘बीमा समितिको नेतृत्वमै यो सफ्टवेयर प्रयोगमा ल्याउन लागेका छौं,’ उनले भने, ‘यो एकदम महŒवपूर्ण र आवश्यक पनि हो ।’

साउनभित्रै उक्त सफ्टवेयर प्रयोगमा आउने भएपछि समितिले आइतवार बीमा कम्पनीका कर्मचारीलाई यस सम्बन्धमा तालीम पनि दिएको छ । गो एएमएल सफ्टवयेर सञ्चालन सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक जानकारी दिन कम्पनीका आइटी तथा सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीलाई तालीम दिइएको हो ।

कार्यक्रममा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त सफ्टवेयर प्रभावकारी रूपमा प्रयोगमा ल्याउनुपर्ने बताए । अब एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियम बापत एकैपटक ठूलो रकम लिएर बीमा गर्ने र केही समयमै सरेन्डर गर्ने आएमा कम्पनीहरूले सफ्टवेयर मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा जानकारी दिनुपर्ने उनले बताए । ग्राहकको त्यस्तो प्रवृत्ति शंकास्पद हुन सक्ने भन्दै उनले तत्काल त्यस सम्बन्धमा राष्ट्र बैंकमा जानकारी दिनुपर्ने बताए । त्यसो नगरे सम्बन्धित कम्पनीलाई कारबाही हुन सक्ने उनको भनाइ । बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी हुन नदिन कम्पनीहरूलाई बारम्बार पचात्रार र निर्देशन पनि दिइएको अध्यक्ष सिलवालले बताए ।

बीमा समितिको आयोजनामा भएको कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका सम्पत्ति शुद्धीकरण निवारण विभागका पदाधिकारी तथा कर्मचारीको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)