ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

क्यालिब्रेशन उडान भारतीय एयरलाइन्सबाट गराइँदै

२०७८ सावन, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो ।

गौतमबुद्ध विमानस्थलका सबै प्रक्रिया पूरा गरेर ६ महीनाभित्र सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । अहिले विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३३ प्रतिशत पुगेसँगै क्यालिब्रेशन फ्लाइटको तयारी गरिएको छ । क्यालिब्रेशन फ्लाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषयहरू पत्ता लगाउन गरिन्छ ।

क्यालिब्रेशन उडान गर्ने कम्पनीले प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुन्छ । काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै अन्य विमानस्थलहरूमा पनि २/३ वर्षको अन्तरालमा केलिब्रेशन फ्लाइट गर्दै आएको उनले बताए । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाइल्यान्डको ‘एरो थाइ कम्पनी’सँग सहमति भए पनि कोरोना भाइरस (कोभिड–१९)का कारण केही ढिलाइ भएको क्षत्रीले बताए ।

एरो थाइ कम्पनी आउन इच्छुक नदेखिएपछि भारतीय एयरलाइन्स कम्पनीसँग क्यालिब्रेशन फ्लाइटका लागि सम्झौता गर्न फाइल अघि बढाइएको छ । उनले कम्पनीको नाम भने खुलाउन चाहेनन् । ‘प्राधिकरण र एरो थाइसँग एक किसिमको आपसी सहमति भए पनि कोभिडले अनिच्छुक देखिएको छ, तर कम्पनीले कुनै दाबी विरोध भने गर्न पाउँदैन,’ उनले भने, ‘अब विकल्पमा भारतीय एयरलाइन्स कम्पनीसँग सहमति गर्न फाइल अघि बढेको छ ।’

विमानस्थलमा क्यालिब्रेशन फ्लाइट दशैंअघि गर्ने प्रक्रिया शुरू गरेको उनको भनाइ छ । यो उडानपछि मात्रै विमानस्थलमा परीक्षण उडान गरिनेछ । परीक्षण उडान सफल भएपछि प्राधिकरणले एयरलाइन्स कम्पनीहरूसँग सेड्युल फ्लाइटका लागि आवेदन माग गर्नेछ । यसबीचमा आन्तरिक प्रोस्युडर डिजाइनको काम गरिने र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मा एयरपोर्ट प्रमाणीकरण गर्न प्राधिकरणले पत्राचार गर्ने उनले बताए । आईकाओले प्रमाणित गरेपछि उडान अनुमति स्वीकृत गर्ने र यी सबै कार्य ६ महीनाभित्र सम्पन्न गरिने उनको दाबी छ ।

यसैगरी पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले ८३ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेकाले त्यहाँ पनि जहाज उडानका लागि अब १ वर्ष मात्रै पर्खनुपर्ने उनको भनाइ छ । विचमा कुनै बाधाव्यवधान आएन भने १ वर्षभित्र दुईओटा ठूला विमानस्थलहरू सञ्चालनमा आउने उनी बताउँछन् । पोखरा विमानस्थलमा त्रिभुवन र गौतमबुद्ध विमानस्थलमा भन्दा साना आकारका जहाजमात्रै अवतरण गराउन मिल्छ ।

काठमाडौंको विमानस्थलमा अवतरण हुन नसकेका जहाज पनि गौतम बुद्ध विमानस्थलमा अवतरण हुनेछन् । गौतम बुद्धमा अहिले चारओटा जहाज पार्किङ गर्न मिल्ने गरी एप्रोन बनाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)