ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा सुनको आयात दोब्बर

२०७८ सावन, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।

परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो ।

आव २०७५/७६ मा साढे ३४ अर्ब रुपैयाँको भन्दा बढी सुनको आयात भएको थियो । आव २०७४/७५ मा १३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो । तर, गत आवमा भने सुनको आयात दोब्बर मात्रामा बढेको छ । यद्यपि, यो आव २०७५/७६ को तुलनामा भने कम नै हो ।

गत आवमा कोरोना महामारी केही कम हुँदा र सुनका गरगहनाको माग बढ्दा आयात पनि बढेको बताइएको छ । कोरोनाको दोस्रो लहरका कारण वैशाख र जेठमा निषेधाज्ञा लगाउदाँ सुनका गरगहनाको व्यवसाय पनि ठप्प भयो । तर, अन्य समयमा सुनका गरगहनाको व्यवसाय राम्रो रहेको व्यवसायीहरू बताउँछन् । त्यसकै प्रभावले सुनको आयात बढेको बताइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले कोरोना महामारीका बीच पनि सुनका गरगहनाको व्यापार राम्रो भएको बताए । त्यसको प्रभावले नै सुनको आयात बढेको उनको भनाइ छ ।

‘नेपालमा सामान्य अवस्थामा ३० अर्बदेखि ४० अर्ब रुपैयाँको सुन आयात हुन्छ । तर, गत आवमा सुनको आयात अझै त्यति पुगेको छैन,’ उनले भने, ‘तर, अघिल्लो आवको तुलनामा सुनको आयात राम्रो भएको छ ।’ सुन आयातमा लगाइएको कोटा बढाउनु, बजारमा गरगहनाको माग बढ्ने जस्ता कारणले सुनको आयात बढेको उनको भनाइ छ ।

अघिल्लो आवमा अमेरिका र चीनको व्यापार युद्धका कारण अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्यो । पछि कोरोना महामारीका कारण पनि सुनको मूल्य थप बढ्न थाल्यो । त्यस क्रममा नेपालमा प्रतितोला ६० हजारको हारहारीमा रहेको सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो । यसरी सुनको मूल्य बढ्दा नेपालमा यसको कारोबार ह्वात्तै घट्यो । त्यसको असरले नै सुनको आयात प्रभावित हुँदै आएको थियो । तर, अहिले सुनको आयात विस्तारै बढ्दै गएको देखिन्छ ।

गत असारमा नेपालमा औसत्भन्दा बढी सुन आयात भएको छ । तथ्यांकअनुसार गत असार महीनामा मात्र रू. ६ अर्ब २७ करोड ६६ लाख बराबरको काचो सुन आयात भएको छ । नेपालमा मासिक औसतमा रू. ३ अर्बसम्म सुन आयात हुने गरेको पाइन्छ । तर, गत असारमा भने औसतभन्दा २ गुणा बढी अर्थात् ६ अर्ब २७ करोड बराबरको सुन आयात भएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार असारमा ९०६ केजी ५०० ग्राम काँचो सुन आयात भएको छ ।

कोरोनाको दोस्रो लहर र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण गत वैशाखको दोस्रो सातादेखि जेठ मसान्तसम्म सुन आयात ठप्प थियो । असारमा निषेधाज्ञा खुकुलो बनाएसँगै सुन आयात पनि उच्च मात्रामा भएको तथ्यांकले देखाएको छ । गत वैशाख र जेठको कोटामा सुन आयात गर्दा यस्तो देखिएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । नेपालमा वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्ने अख्तियार छ । यद्यपि, उनीहरूले महासंघको सिफारिशमा सुन आयात गर्दै आएका छन् । उनीहरूले दैनिक २० केजीसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)