पर्वत । पर्वतको फलेवास नगरपालिकाको केन्द्र फलेवास नगरपालिका–५ झकलकमा सर्ने भएको छ । कार्यपालिका कार्यालय (केन्द्र) निर्माणको विवादमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेर केन्द्र झकलकमै सार्ने बाटो खोलिदिएको हो ।
केन्द्र सार्ने बारेमा कार्यपालिकाले गरेको निर्णय बदर गर्न माग गर्दै उपप्रमुख मञ्जु अधिकारीले सर्वोच्चमा दिएको मुद्दा र प्रमुख पदमपाणि शर्माले दायर गरेको मुद्दाको टुंगो लगाउँदै सर्वोच्चले बहुमतको निर्णय सदर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले अन्तरिम आदेश बदर गरेको नगरप्रमुख शर्माले बताए ।
‘सर्वोच्च अदालतको आदेशले कार्यपालिकाको भवन निर्माण लगायत कार्य अघि बढाउन बाटो खोलिदिएको छ,’ उनले भने, ‘यसअघिको आदेशले नगरवासीको भावनामा चोट पुगेको थियो, अहिले अदालतले त्यसलाई सच्याउने काम गरेको छ ।’
नगरपालिकाको नगरसभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयविरुद्ध उप्रमुख मञ्जु अधिकारीले चैत २२ गते नगरसभा, कार्यपालिका, नगरप्रमुख सहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि चैत २५ गते भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश जारी गरिएको थियो । त्यसपछि नगरप्रमुख शर्मासहितले उक्त आदेश खारेज गर्न माग गर्दै वैशाख ९ गते मुद्दा दर्ता गरेका थिए ।
नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयमा स्थानान्तरण गरेर सञ्चालन गरिँदै आएको थियो । हाल रहेको अस्थायी केन्द्रबाट नयाँ स्थानान्तरण हुने झकलक करीब १ किलोमिटरको दूरीमा छ । उक्त स्थानमा ६० दशमलव ८ रोपनी जग्गा उपलब्ध भएको थियो ।
नगरपालिकाको केन्द्रको विवाद पनि अदालतको आदेशसँगै टुंगिएको छ । अब झकलकमा भवन बनाउने नगरको योजना कार्यान्वयन हुने भएको छ । ‘अदालतको अघिल्लो आदेशपछि भवन निर्माण प्रक्रिया रोकिएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले भने, ‘पछिल्लो आदेशले प्रक्रिया पुनः शुरू गर्ने बाटो खुला भयो ।’
अदालतको आदेशले जनताको माग र चाहनामा तुषारापात भएको उपप्रमुख अधिकारीले टिप्पणी गरिन् । अस्थायी केन्द्रमा करोडौंका संरचना निर्माण भएको अवस्थामा अर्को ठाउँमा केन्द्र सार्ने निर्णय व्यावहारिक नभएको उनको भनाइ छ ।