पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले प्रशासनिक भवन निर्माणको काम शुरू गरेको छ । १८ महीनामा काम सक्नेगरी गाउँपालिकाको भवन बनाउन शुरू भएको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आइतवार प्रशासनिक भवनको शिलान्यास गरेका छन् । उनले तोकिएको समयमै भवन निर्माणको काम पूरा हुने प्रतिबद्धता व्यक्त गरे ।
पैयुँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे बगरमा भवन निर्माण शुरू गरिएको हो । लिफ्टसहित ३८ कोठाको तीनतले भवन रू. ५ करोड ४८ लाख ४८ हजार ९९० रुपैयाँ लागतमा बन्नेछ । १२ रोपनी क्षेत्रफलमा रहने प्रशासनिक भवन निर्माणस्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गाधनीले जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
प्रशासकीय भवन निर्माणका लागि विवेक एण्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले जिम्मा पाएको छ । अध्यक्ष तिवारीले भौतिक पूर्वाधारले सुविधासम्पन्न नहुँदा गाउँपालिकाका सेवा प्रवाहमा समस्या भइरहेको भन्दै भवन बनेपछि सहज हुने बताए । गाउँपालिकाको भवनमा न्यायिक समितिको इजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषयगत शाखाका अलगअलग कक्ष रहनेछन् ।
प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । उनले सुविधासम्पन्न भवन निर्माण भएपछि अहिले भाडामा सञ्चालन हुँदै आएको मुख्य कार्यालय र विषयगत कार्यालय आफ्नै भवनमा स्थानान्तरण हुने बताए ।
अघिल्लो वर्ष मोदी गाउँपालिकाको भवन बनेर नयाँ कार्यालयमा गाउँपालिका सरेको छ । कुश्मा नगरपालिकाले जग्गा पाए पनि भवन बनाउन शुरू गरेको छैन । फलेवासको केन्द्रको विवादले भवन बन्न सकेको छैन । विहादी गाउँपालिकाले प्रशासनिक भवनको निर्माण कार्य जारी रहेको बताएको छ ।
महाशिला गाउँपालिकाले केन्द्र रहने स्थानको टुंगो लागे पनि भवन बनाउने प्रक्रिया शुरू गरेको छैन । भाडाका घरमा बसेका स्थानीय तहले वर्षेनि भाडामा लाखौं खर्च गर्दै आएका छन् ।