ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत खाद्यान्न उत्पादनमा आत्मनिर्भर

२०७८ सावन, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पछिल्लो २ वर्षयता पर्वतमा बाँझो जमीनमा पनि खेती गर्न थालिएको छ । कोरोना संक्रमणपछि विदेशबाट फर्किएका र बजारमा बस्ने मानिस गाउँमा फर्र्किएर खेतीपाती गर्न थालेपछि खाद्यान्न उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले खेतीयोग्य जमीनको उपयोग भएपछि उत्पादन बढेको र जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएको बताएको छ ।
खेतीयोग्य जमीनको एक तिहाइ क्षेत्रफलमा वर्षमा तीन बाली लगाइने कृषि ज्ञान केन्द्रले बताएको छ । केन्द्रले गतवर्षको प्रगति सार्वजनिक गर्दै खाद्यान्न उत्पादनमा जिल्ला आत्मनिर्भर भएको र तरकारी र फलफूलमा समेत जिल्ला आत्मनिर्भरोन्मुख रहेको दाबी गरेको छ । केन्द्र प्रमुख मनिता थापाले धान, गहुँ, मकै र कोदो उत्पादनलाई आधार मान्दा पर्वतवासीलाई पुगेर केही खाद्यान्न बचत हुने बताइन् । ‘जिल्लाको उत्पादन जिल्लाभित्रै उपभोग गर्दा पुग्ने स्थितिमा गएका छौं,’ उनले भनिन्, ‘पछिल्लो २ वर्षमा उत्पादित क्षेत्र र फसल उत्पादन बढेको तथ्यांक आएको छ ।’ जिल्लामा उत्पादन भएको ३६ सय ३० मेट्रिक टन खाद्यान्न बचत हुने थापाले बताइन् ।

२०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४६ हजार ५९० छ । एक व्यक्तिले वर्षमा २०१ किलो खाद्यान्न, १२६ किलो तरकारी र १४४ किलो फलफूल खपत गर्ने कृषि प्राविधिकको अनुमान छ । सोही अनुमानका आधारमा खाद्यान्नको माग वर्षमा २९ हजार ४६५ मेट्रिक टन, तरकारी १८ हजार ४७० र फलफूल २१ हजार १६५ मेट्रिक टन छ । जिल्लामा धान, मकै, कोदोलगायत खाद्यान्न ३३ हजार ९५ मेट्रिक टन उत्पादन हुन्छ । १४ हजार ३ सय मेट्रिक टन तरकारी र १२ हजार १ सय ६५ मेट्रिक टन फलफूल उत्पादन हुन्छ ।

पछिल्लो समय उत्पादनमा आधारित अनुदान, युवा लक्षित कार्यक्रम, अनुदानलगायत कार्यक्रमको प्रभावले खाद्यान्न, तरकारी र फलफूलको उत्पादन वर्षेनि बढिरहेको केन्द्र प्रमुख थापाको दाबी छ । चालू आवमात्रै १ लाख ११ हजार ४१० विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको ज्ञानकेन्द्रले बताएको छ ।

कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धान खेतबाट करीब ३० हजार टन धान उत्पादन हुन्छ । यो जिल्लाका बासिन्दाले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करीब ४० प्रतिशत हो । बाँकी मकै, कोदो, गहुँलगायत खाद्यान्नबाट आपूर्ति हुन्छ । जिल्लामा खेतीयोग्य जमीन २८ हजार हेक्टर छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)