ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–भकुण्डे सडक : ट्र्याक खुलेको १२ वर्षमा पनि चल्न सकेनन् सवारीसाधन

२०७८ सावन, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे सडकमा ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडकको व्यवस्थित रूपमा स्तरोन्नति हुन नसक्दा ठूला सवारीसाधन सञ्चालनमा आउन नसकेको हो ।

२०६६ सालमा ट्र्याक खुलेको साढे ७ किमी यो सडक मर्मतका लागि लाखौं रुपैयाँ खर्च भइसकेको छ । यद्यपि यातायातका साधन सञ्चालन हुन नसकेपछि सडकमा गरिएको उक्त लगानी ‘बालुवामा पानी’ भएको छ ।

सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर, साना जीप र मोटरसाइकल बाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । साना सवारीसाधन पनि वर्षको ४ महीना मात्र चल्ने गरेको स्थानीयले बताएका छन् । सडकमा मोटरसाइकलसम्म गुड्ने बनाउन स्थानीय प्रतिभा युवा क्लब र स्थानीयवासीले ढुंगा, गेगर पन्छाउने गरे पनि पानी पर्नेबित्तिकै बिग्रने गरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहकार याम कार्कीले बताए ।

सडक खण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि नाली निर्माण नगरी डोजर घुमाएर बजेट सक्ने प्रवृत्तिले सडक स्तरीय बन्न नसकेको स्थानीयको गुनासो छ । ‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, बजेट सक्ने काम मात्र भयो, बाटोको स्थायित्व भएन,’ स्थानीय दिलबहादुर कार्कीले भने ।

उनका अनुसार बेनीदेखि भकुण्डेसम्म जान सल्लेरीधारासम्म ४ ओटा बाटो बनाइएको भए पनि कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा समेत सवारीसाधन चल्न सक्दैनन् ।

२०६७ सालयता बेनी भकुण्डे सडकमा करीब ८० लाख रुपैयाँ बजेट खर्च भइसकेको छ । गत आर्थिक वर्षमा बेनी–वौर–ठूलोगैरा–खवरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खवरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल २६ लाख ५० हजार रुपैयाँ खर्चमा मर्मत गरिएको बेनी–खवरा–भकुण्डे सडकमा पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरै थोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले पनि सडक सवारीसाधन चल्नयोग्य नभएको बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले बताए । बेनी नगरपालिका २ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट,  धेरै घुम्ती भएको र वनक्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा बिग्रने गरेको बताए । सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएको भन्दै उनले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)