ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिस्त्रीखोला जलविद्युत् आयोजना : प्रसारण क्षमता नहुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन हुन सकेन

२०७८ सावन, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सकेको छैन । गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको सो आयोजनाले प्रसारण लाइनको क्षमता कम हुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन गर्न नसकेको हो

‘हाइड्रो हब’का रूपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण गरिएको सो आयोजनाको पूर्ण उत्पादन (४२ मेगावाट नै) क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा पूर्णरूपमा व्यावसायिक उत्पादन गर्न नसकेको बताइएको छ । आयोजनाका अनुसार विद्युत् प्राधिकरणको लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही परिमाणमा विद्युत्् उत्पादन गरी ग्रिडमा पठाइएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी हुन थालेको आयोजनाका कन्स्ट्रक्सन म्यानेजर चूडामणि निरौलाले बताए ।

‘हामीले जेठ १५ गतेदेखि विद्युत् उत्पादन गरी ग्रिडमा पठायौं र असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरू गर्‍यौं,’ आयोजनाका कन्स्ट्रक्सन म्यानेजर निरौलाले भने, ‘प्राधिकरणको प्राविधिक कारणले लोडसेन्टरको माग अनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।’

मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी कोरिडोर २२० केभीए प्रसारण लाइनको सबस्टेसनमा जोडिएको छ । यो प्रसारण लाइन पूरा भएको छैन । पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै छ । प्रसारण लाइनको सम्पूर्ण काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्सन म्यानेजर न्यौपानेको भनाइ छ ।

कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत्् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २२० केभी क्षमताको सबस्टेशन बनाएको छ । दानादेखि पर्वतको खुर्कोटसम्म ११० ओटा टावर बनाएर ३९ दशमलव ६ किलोमिटर डबल सर्किटको तार तानिएको छ । तर, पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम सकिएको छैन ।

२०७३ जेठदेखि निर्माण थालिएको मिस्त्रीखोला जलविद्युत् आयोजनाको कुल लागत ५ अर्ब ६४ करोड रुपैयाँ छ । माउन्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ५० लाख रुपैयाँ छ । आयोजनाले विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्ने नारच्याङमा १० ओटा विद्युत् आयोजना निर्माणाधीन छन् । यहाँ ४९ मेगावाट क्षमताका तीनओटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनओटा आयोजना निर्माणाधीन र १३९ दशमलव ९४ मेगावाट क्षमताका चारओटा आयोजना निर्माण प्रक्रियामा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)