ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा रू ३८.७१ करोडको सुनका गरगहना निर्यात

२०७८ सावन, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट रू. ३८ करोड ७१ लाख ७६ हजार बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका गरगहना विभिन्न देशमा निर्यात भएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार एचएस कोड दिएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन शुरू भएको थियो । उक्त आवमा नै ३ देशमा त्यस बराबरको सुनका गरगहना निर्यात भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएका छन् ।

तीन मुलुकमध्ये अमेरिकामा सुनका गरगहना सबैभन्दा बढी निर्यात भएको छ । त्यहाँ गत आवमा २८ करोड ६० लाख ९६ हजार रुपैयाँको गरगहना निर्यात भएको छ । यसैगरी हङकङमा ६ करोड ७ लाख र अस्ट्रेलियामा ४ करोड ३ लाख ७८ हजार रुपैैयाँको सुनका गरगहना निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

पछिल्लोपटक आव २०७२/७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।

मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार व्यापक मात्रामा हुन सकेको छैन । त्यो अवस्थामा विदेशमा गरगहना निर्यात शुरू हुनुलाई सकारात्मक रूपमा लिइएको छ ।

पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीहरूको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनीहरूबाट नेपाली परम्परागत शैली अर्थात् डिजाइनका गरगहना माग हुने गरेको उनको भनाइ छ ।

‘उनीहरूले विदेशमा नबन्ने गरगहनाहरू माग गर्ने गरेका छन्,’ उनले भने, ‘विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहनाको माग हुने गरेको छ ।’ कतिपय व्यवसायीहरूले विदेशमा रहेका व्यवसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहनाहरू निर्यात गर्दै आएको उनले बताए ।

अबका दिन सुनका गरगहनाको निर्यात पनि बढ्दै जाने उनको भनाइ छ । ‘हामीले हालै गेटवे पेमेन्ट नेपालसँग अन्तरराष्ट्रिय विद्युतीय भुक्तानी सेवामा सम्बन्धमा सम्झौता गरेका छौं । त्यसअनुसार अब विदेशी ग्राहकले सजिलै पैसा भुक्तानी गरेर गरगहना माग गर्न सक्छन्,’ उनले भने, ‘साथै, गत आवमा सुनका गरगहनाको निर्यात जसरी बढेको छ, त्यसलाई हेर्दा अबका दिनमा यसको निर्यात बढ्ने देखिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)