ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

मल्लाज दरबार बन्यो ‘हेरिटेज रिसोर्ट’

२०७८ सावन, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गौरवपूर्ण इतिहास र पहिचानले युक्त कैयौं ऐतिहासिक स्थलहरूको संरक्षण र उपयोग हुन नसकिरहेका बेला गण्डकी क्षेत्रको एक ऐतिहासिक सम्पदालाई भने पुनर्निर्माण गरेर व्यावसायिक रूपमा रिसोर्ट सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटमा रहेको ऐतिहासिक मल्लाज दरबारलाई पुनर्निर्माण गरेर ‘हेरिटेज रिसोर्ट’ सञ्चालन गरिएको हो । नेपालमा तत्कालीन बाईसे–चौबीसे राज्यताका शक्तिशाली मानिएको पर्वत राज्यको पहिचान बोकेको मल्लाज दरबार दरबार पुनर्निर्माण गरी रिसोर्टमा परिवर्तन गरिएको सञ्चालक मुकुन्द मल्लले बताए । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वका बेला मल्लाज दरबारमा चोरी, डकैती र तोडफोड भएको थियो । दरबारमा तोडफोड भएपछि त्यसभित्र रहेका खुँडा, तरबार, बन्दुक, खुकुरी, ढाल, गोलीगट्ठालगायत सरसामान हराएका थिए ।

सञ्चालक मल्लका अनुसार उनका जिजुबुबा कर्णेल तेजबहादुर मल्लले तत्कालीन समयमा भक्तपुरबाट दक्ष कालीगढ ल्याएर दरबारको निर्माण गराएका थिए । १०० वर्षभन्दा पुरानो दरबारमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरिएको उनले बताए । करीब २० रोपनी क्षेत्रफलमा रहेको उक्त रिसोर्टमा आउने पर्यटकले अग्र्यानिक कृषि उपजको मजा लिन सक्नेछन् ।

द्वन्द्वकालीन समयमा तोडफोडबाट दरबार जीर्ण बनेपछि आफूले पुनर्निर्माण गरी रिसोर्टको रूपमा सञ्चालनमा ल्याएको सञ्चालक मल्लको भनाइ छ । ऐतिहासिक महŒव झल्कने दरबार रिसोर्ट बनेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबारभित्रको रिसोर्टमा पाहुनाका लागि आठओटा कोठा छन् भने दरबारभन्दा बाहिरको परिसरमा सातओटा टेन्टहाउस निर्माण गरिएको सञ्चालक मल्लले बताए । मल्लाज दरबारको रिसोर्टमा एक रातमा २८ जना पर्यटक बस्न सक्ने क्षमता छ । रिसोर्टमा स्वदेशका साथै अस्ट्रेलिया, बेलायत, चीन, कोरिया, जर्मनी र स्पेनबाट समेत पर्यटक आउने गरेका छन् । तर पछिल्लो दुई वर्षयता कोरोना महामारीका कारण रिसोर्ट सुनसानप्रायः छ ।

रिसोर्टमा वास बस्न गएपछि साँझमा क्याम्प फायर गर्न पाइन्छ । यसैगरी भुटेको मकै, कालीभट्ट, मुस्ताङको आलु तथा अग्र्यानिक खानाको स्वाद चाख्न पाइने सञ्चालक मल्लले बताए ।

रिसोर्टमा कतिपय पर्यटक सीधै सम्पर्क गरेर आउने गर्दछन् भने कोही म्याग्दी सदरमुकाम बेनीबाट मल्लाज दरबार पुग्छन् । म्याग्दी र मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटक म्याग्दीको बेनीबाट पर्वतको मल्लाज–बाँसखर्क–डाँडाकटेरी हुँदै नागी–महरेडाँडा–पुनहिल र घोडेपानी पुगेर फर्कन्छन् । पर्यटकीय रूटमा पर्ने भएकाले मल्लाज दरबारमा बसेर पर्यटकहरू नागी–महरेडाँडा–घोडेपानी र पुनहिलको भ्रमणमा निस्कन सकिन्छ । ऐतिहासिक महŒव र पर्यटकीय आकर्षणले युक्त मल्लाज दरबार चलचित्र, डकुमेन्ट्री, म्युजिक भिडियो र विभिन्न कार्यक्रम छायांकनका लागि समेत उपयुक्त स्थल मानिन्छ ।

मल्ल परिवारले जलजलाको लामाखेतमा पर्यटक लक्षित रेष्टुराँ र स्वीमिङ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै गेष्टरूमको भने निर्माण भइरहेको मल्लले बताए । यहाँबाट म्याग्दी, मुस्ताङ र बागलुङका सुन्दर बस्तीहरू, कालीगण्डकी र म्याग्दी नदी क्षेत्रका नागबेली दृश्य, धौलागिरि, नीलगिरि, गुर्जा लगायत हिमशृंखला, खेतका फाँट, पहाडी भूगोल लगायत रमणीय प्राकृतिक सौन्दर्यको समेत अवलोकन गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)