ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्ग असोजसम्ममा सम्पन्न हुने

२०७८ सावन, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ ।

कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ । साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको गुनासो छ । पटकपटक म्याद थप्दै निर्माण अगाडि बढाइएको छ । सबै समस्या हुँदाहुँदै पनि अबको दुई महीनाभित्र पर्वतखण्डको सबै काम सक्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेगराज मरासिनीले बताए ।

पटकपटक थप गरिएको म्याद गुज्रँदै गए पनि काम भने नसकिँदा आलोचना हुँदै आएको छ । अब भने म्याद नथप्ने सोचमा रहेको आयोजना प्रमुख मरासिनीले बताए ।

पोखरा–बागलुङ राजमार्गको ६० किलोमिटर नै नयाँ स्वरूपमा रूपान्तरण भइरहेको छ । पर्वत खण्ड अन्तर्गतको २५ किलोमिटरमध्ये ९ किलोमिटर पूर्णरूपमा सम्पन्न भइसकेको छ । बाँकी १६ किलोमिटरमध्ये १२ किलोमिटरमा बेस बिच्छ्याइसकेको र अब ४ किलोमिटरमा दुवै काम गर्न बाँकी रहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।

असार मसान्तमै सकिनुपर्ने काम भए पनि निरन्तरको वर्षाका कारण प्रभावित भएको र अबको २ महीनाभित्र पूरै काम सम्पन्न भएर आयोजनालाई हस्तान्तरण गरिने उनले बताए ।

पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो । सुस्त गतिमा भएको काम, कोरोना संक्रमणले पटकपटक भएको निषेधाज्ञा लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको हो । अब भने अधिकांश काम सकिएको र जम्मा १० प्रतिशत जति मात्र काम बाँकी रहेकाले २ महीनाभित्र पूर्णरूपमा सम्पन्न हुने आयोजना प्रमुख मरासिनीले जानकारी दिए ।

उनका अनुसार मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोबिल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम समेत सम्पन्न भइसकेको छ । कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भए पनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिएको छ । २०७५ वैशाखदेखि शुरू भएको पर्वत खण्ड विस्तारको काम गएको २०७७ सालको भदौमा सकिनुपर्ने हो । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोलासम्मको खण्डको काम गतवर्ष नै सकिएको छ । गत असार २२ गतेको बाढीका कारण यो खण्ड निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारूलाई बगाएर बेपत्ता बनाएपछि केही दिन काम प्रभावित भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)