ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी गाडीको आयात बढ्यो

सार्वजनिक बसको आयात घट्यो

२०७८ सावन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । गएको आर्थिक वर्ष (आव) २०७७/७८ मा अन्य व्यवसायमा नकारात्मक प्रभाव परे पनि अटोमोबाइलको व्यापार भने बढेको देखिएको छ । अटोमोबाइलभित्रै सार्वजनिक बससहित अन्य केही सेग्मेन्टको व्यापार खस्किए तापनि समग्र रूपमा भने अटोमोबाइलको बजार फस्टाएको देखिएको हो ।

यस आर्थिक वर्षमा दुईपांग्रे र चारपांग्रे गरी निजी प्रयोजनको यातायातका लागि प्रयोगमा आउने सवारीको आयात ७० प्रतिशतले बढेको छ । जीप, कार, भ्यान र मोटरसाइकल तथा स्कुटरको आयातको तथ्यांक हेर्दा आव २०७६/७७ मा २ लाख ९ हजार ९ मात्रै रहेकोमा गएको आवमा उक्त संख्या बढेर ३ लाख ५५ हजार १८ पुगेको देखिन्छ ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार गएको वर्ष निजी प्रयोजनका जीप, कार, भ्यानको आयात आव २०७६/७७ मा १० हजार ९७२ रहेकोमा गएको आवमा उक्त आयात बढेर १४ हजार ८४७ मा पुगेको छ ।

यसैगरी दुईपांग्रेको हकमा ३ लाख ५५ हजार ८६७ मोटरसाइकल तथा स्कुटरको आयात भएको छ । यसको आयात अघिल्लो वर्ष १ लाख ९८ हजार ६२ मात्रै रहेको थियो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिडपछि निजी सवारीको माग बढेको बताए । अघिल्लो वर्ष माघदेखि वैशाखसम्म मागअनुसार पूर्तिसम्म गर्न नसकिएकाले अग्रिम बुकिङ गरिएकोमा अन्य महीनामा पनि विक्री सामान्य बढेको देखिएको उनले बताए ।

‘कोभिडपछि स्वास्थ्य सतर्कताका लागि भए पनि निजी सवारीप्रति आकर्षण बढेको देखिएको छ । यसले अटोमोबाइल अत्यावश्यक हो न कि विलासिताको साधन हो भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘कोभिड महामारीका कारण शोरूमसम्मै पुग्नेको संख्या थोरै भएपनि विस्तारै सोधपुछ गर्नेको संख्या बढ्दै गएको छ र सकारात्मक संकेत नै देखिएको छ ।’

गएको वर्ष निजी सवारीको विक्री बढेको देखिए पनि सार्वजनिक सवारीको माग भने ठप्पै देखिएको छ । उक्त वर्ष जम्मा २ सय ७९ ओटा मात्रै बस आयात भएका छन्, जबकि यो संख्या अघिल्लो वर्ष २ हजार ८३ रहेको थियो ।

कोभिड संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण वर्षभरि जस्तै सार्वजनिक यातायात ठप्प भएका कारण सार्वजनिक यातायात धराशयी भएको व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रका लागि गएको वर्ष अप्रिय भएको बताए । ‘व्यवसाय ठप्प भयो, लाखौं मजदूर बेरोजगार भए र राज्यले पनि व्यवसाय पुनःस्थापन तथा मजदूरको जीविकोपार्जनका लागि आवश्यक पहलकदमी गरेन,’ उनले भने ।

गतवर्ष कुल ४ लाख ७४ हजार ६७९ ओटा यातायातका साधन आयात भएका छन् । आव २०७६/७७ मा यो संख्या ३ लाख ७० हजार २३८ मात्रै रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)