साउन २६, पर्वत । पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।
प्रत्येक वडामा कृषि सम्बन्धी एउटा न एउटा आकर्षण रहने गरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो ।
सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास गरी त्यहाँका कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा लाग्ने बनाउनको लागि अनुदान दिइएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए ।
कुल २५ लाख रुपैयाँको उक्त योजना कार्यान्वयन गर्न फलेवासकै लिमिठानामा रहेको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा दिएपछि सोही सहकारीमार्फत कृषकहरूलाई अनुदान दिइएको हो । शंकरपोखरी र थापाठाना दूध उत्पादनमा राम्रो रहेकाले यो ठाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको वडाध्यक्ष कार्कीले बताए ।
मल्यांदीखोला क्षेत्रमा भैँसी पालन समूह निर्माण गरेर कृषकहरूलाई यसैमा आबद्ध गराइएको छ । अनुदान पाएका कृषकहरूले कम्तीमा पनि तीन ओटा भैँसी पालेको हुनुपर्ने नियम राखिएको छ । त्यसो भएमा एक कृषकको घरमा दैनिक करीब १५ लिटर दूध उत्पादन हुनेछ ।
तीन ओटा भैँसी नपाल्ने हो भने दूध ओसार्न जाने जीपलाई एक खेप नहुने र बजार व्यवस्थापनमा समस्या हुने तथा दूध बजारमा पठाउन चाहेमा समूह बाहिरका कृषकहरू पनि जोडिन पाउने कार्कीले बताए । यहाँका युवाहरु पछिल्लो समय विदेशबाट फर्किएर भैँसीपालन तर्फ लागेका छन् । किसानहरुको योजनामा नगरले साथ दिँदै अनुदान वितरण गरेको पशु सेवा शाखाका प्राविधिक प्रताप पौडेलले बताए । उनले अनुदानले किसानलाई हौसला मिलेको सुनाए ।
दूध उत्पादनलाई बढाउन तराई क्षेत्रबाट उन्नत जातको भैँसी ल्याउने योजना बनाइए पनि बर्खायाम र कोरोना महामारीको जोखिमका कारण तत्कालका लागि स्थानीय जातका भैँसीलाई नै मान्यता दिइएको छ । पकेट क्षेत्रमा कम्तीमा पनि १७० भैँसी पाल्ने र त्यहाँबाट उत्पादित दूधलाई बजार व्यवस्थापन गर्ने जिम्मा पनि सहकारीले नै लिएको अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए ।