ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकाससँग जोडिँदै ज्यामरुककोटका ऐतिहासिक आँखीझ्याल

२०७८ सावन, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । थापा र मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित  ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका ऐतिहासिक सम्पदा विकाससँग जोडिन थालेका छन् ।

समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको करिब ६ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्न वडा कार्यालयले धमाधम पूर्वाधार निर्माण  थालेपछि सम्पदाहरू विकाससँग जोडिन लागेका हुन् ।

१५ औं शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक  पर्यटकीय स्थल  बनाउने उद्देश्यले बेनी नगरपालिका  र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

अध्यक्ष थापाका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् ।

अध्यक्ष थापाका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगम स्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गत वर्ष २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

यो वर्ष नगरपालिकाको पर्यटन शाखाबाट ५ लाख र वडा कार्यालयको २ लाख विनियोजित बजेटबाट कोत परिसरमा २ सय १० मिटर घेराबार, २ सय मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा गुठी ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए ।

विसं. १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेको ज्यामरुककोटमा थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छाडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख छ ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायत हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

पूर्वाधार र प्रचार–प्रसार अभावमा ओझेल रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताए ।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न  प्रतिबद्ध रहेको वडाध्यक्ष थापाको भनाइ छ । वडाध्यक्ष थापाले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए ।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत दर्जनाैं हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती देखिन्छ ।

गुरुयोजनासहित धार्मिक, पर्यटकीय स्थलको पूर्वाधार र प्रचार–प्रसार गर्न नगरपालिका, वडाले सक्रियता देखाउन सके ग्रामीण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने सम्भावना रहेको स्थानीय भीमबहादुर पौडेलले बताए ।

‘ज्यामरुककोट ऐतिहासिक र प्राकृतिक सुन्दरतायुक्त सम्पदा भए पनि विकासको सहज पहुँच नहुँदा पछाडि परेको थियो,’ पर्यटन क्षेत्रका जानकार शिव बानियाँले भने  ‘बेनीदेखि भकुन्डेसम्म मोटरबाटोको सुविधा र भकुन्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।’

बानियाँका अनुसार अब २/४ वटा स्तरीय होटल एवं रेस्टुरन्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटक यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदयको अवलोकन गर्न आउन सक्छन् ।’

त्यस्तै, वडा कार्यालयको पछाडिपट्टि रहेको ऐतिहासिक राजकुवालाई संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्गभवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेस्टुराँ सञ्चालन गर्न सकिने सम्भावना रहे पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको सरोकारवाला बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)