ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा ‘स्टार’ होटेलको संख्या १४२ मात्रै !

२०७८ सावन, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम (कोठा) संख्या ८ हजार ५९५ रहेको छ, भने बेड अर्थात् शय्या संख्या १३ हजार ८७७ रहेको छ । यी होटेलहरूमा ३ हजार ५३२ जनाले रोजगारी पाएका छन् । पर्यटकीय स्तरका होटेलहरूको संख्या १ हजार १७१ छ । विभागका दर्ता भएका तारा स्तर र अन्य गरी कुल १ हजार ३१३ होटेल रहेका छन् भने यिनीहरूको कुल बेड संख्या ४५ हजार ८५० रहेको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जीसीले यो संख्या विभागमा दर्ता भएका होटेलहरूको मात्रै हो । ठूलो संख्याका होटेलहरू विभागसम्म आइनसकेको उनले बताए । विभागमा दर्ता नभए पनि होटेल व्यवसाय सञ्चालन गर्न पाइन्छ । होटेल व्यवसायीहरूले स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएर हस्पिटालिटी सेवा उपलब्ध गराउन सक्छन् । ‘तारेस्तरको मान्यता लिनका लागि विभागमा दर्ता हुनैपर्छ,’ जिसीले भने, ‘तर, सञ्चालन गर्नका लागि अन्य निकायमा दर्ता भए पनि हुन्छ ।’

व्यवसाय सञ्चालन गरेको होटेललाई स्टार (तारा) आवश्यक परेमा मात्रै विभागमा दर्ता हुन आउने गरेको उनको भनाइ छ । अन्तरराष्ट्रिय पर्यटकका लागि मार्केटिङ गर्दा अनलाइन टिकट बुकिङदेखि गुणस्तरीय सेवा प्रवाह भइरहेको छ, भनी स्तर देखाउन स्टारको मान्यता लिने गर्छन् । बाह्य पर्यटकले पनि यस्ता होटेललाई नै रुचाउने गरेको पाइन्छ । विभागमा मान्यता पाउनका लागि दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा पनि व्यवसायीहरू अनिच्छुक देखिएको हुन सक्ने जिसीले बताए ।

कम्पनी रजिस्टारको कार्यालय तथा अन्य निकायहरूबाट दर्ता भई सञ्चालन भएका होटेलहरूले ताराको मान्यता लिन आवश्यक भएमा विभागमा दर्ता हुनुपर्छ । स्टारको मान्यता लिनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) जस्ता पक्षहरू पूरा गर्नुपर्ने भएकाले प्रक्रिया लामो छ । त्यसैले विभागमा दर्ता हुन नसकेको हो कि भन्ने आकलन गरिएको उनको भनाइ छ । स्टारको मान्यता पाउन र लिन विभागमा दर्ता हुन आउने क्रम बिस्तारै बढेको उनले बताए ।

होटेल एशोसिएशन नेपाल (हान) का अनुसार भने ३ हजार ५०० होटेलहरू मुलुकभर सञ्चालनमा छन् । यो तथ्यांक पनि हान मेम्बरको मात्रै हो । विभाग र हानमा दर्ता तथा मेम्बर नभएका होटेलहरूको संख्या पनि बढिरहेको छ ।

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले २/३ ओटा प्राविधिक समस्याले गर्दा स्टारको मान्यता लिने होटेलको संख्यामा कमी आएको बताए । ईआईए गर्दा नै १ वर्ष लाग्ने र अन्य आर्थिक तथा व्यवस्थापकीय पक्षका कारण पनि तारेस्तरको मान्यता लिन ढिलाइ भएको उनले बताए । तर, नयाँ मापदण्डअनुसार होटेलहरूले स्टार लिने वातावरण बन्ने उनको भनाइ छ ।

विभागको तथ्यांकअनुसार लक्जरी रिसोर्टको संख्या २ छ भने सामान्य खालका रिसोर्टको संख्या ९९ रहेको छ । डिलक्स रिसोर्ट एउटा मात्रै रहेको छ । यस्तै हेरिटेज बुटिक होटेलको संख्या ३ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)