ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

२०७८ भदौ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो ।

हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो ।

तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ ।

बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ ।

गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।

वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’

गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ ।

नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ ।

सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो ।

तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)