ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोदी गाउँपालिकाले विद्युत् महसुल तिरिदिने

२०७८ भदौ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको मोदी गाउँपालिकाले पालिकाभित्रका विपन्न परिवार र २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने नागरिकको विद्युत् महसुल तिरिदिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि कार्यान्वयन गर्नेगरी गाउँपालिकाले यो कार्यक्रम ल्याएकोहो ।

मोदी गाउँपालिका विद्युत्को हब हो । यहाँको मोदीखोलामा दुईओटा जलविद्युत् आयोजना सञ्चालित छन् भने दुईओटा आयोजना चालू आवभित्रै सम्पन्न हुने चरणमा छन् । विद्युत्को हब भएकाले स्थानीयले विद्युत्मा छूट दिन माग गर्दै आएका थिए । गाउँपालिकाले स्थानीयको माग अनुसार चालू विद्युत् निःशुल्क उपलब्ध गराउन थालेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले सर्वसाधारणको विद्युत् महसुल बेहोर्न चालू आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘कस्तो आर्थिक अवस्था भएका र कुन कुन समुदाय तथा वर्गका परिवारको महसुल तिर्ने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौं,’ पौडेलले भने, ‘गाउँपालिकाले आफ्नो नीतिमा उल्लेख गरेको विषयलाई कार्यविधि बनाएर लागू गर्न लागिएको हो ।’ कार्यविधिमा मासिक आय कम हुने, विपन्न तथा दलित परिवारलाई प्राथमिकतामा राखिएको पौडेलले बताए ।

मोदीका सबै वडामा विपन्न तथा कम आय भएका परिवारको लगत संकलन गर्न कर्मचारी खटाइएको छ । कार्यविधि तयार भइसकेपछि यसबारे स्पष्ट हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए । निःशुल्क विद्युत् बाल्न दिनेगरी योजना बनाएको पालिकाले कार्यविधि बनाउन ढिलाइ भए पनि साउनदेखिकै महसुल तिर्ने भएको छ । पालिकाले त्यसका लागि विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रसँग समन्वय गरिसकेको छ ।

अनुमानित २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उक्त रकमले अपुग भएमा थप्ने बताएको छ । हालसम्म नेपाल विद्युत् प्राधिकरणको मोदीखोला र निजीक्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना गरी २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजीक्षेत्रका दुई आयोजनाको ३५ दशमलव १ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् । अहिले सञ्चालित आयोजनाबाट मोदी गाउँपालिकाले वार्षिक १ करोड ३० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्छ । सोही रोयल्टीबाट प्राप्त रकमबाट पालिकावासीलाई विद्युत् महसुलमा छूट दिन लागिएको गाउँपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)