ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा फस्टाउँदै प्रांगारिक तरकारीखेती

२०७८ भदौ, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना महामारी शुरू भएयता म्याग्दीमा प्रांगारिक तरकारीखेतीको लहर चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरू फुर्सदिला बनेको र घरगाउँमै सीमित रहनुपर्ने बाध्यताले उनीहरू प्रांगारिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् ।

प्रांगारिक तरकारीखेतीबाट राम्रो उत्पादन र मनग्गे फाइदा भएपछि जिल्लाका किसान व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उत्पादनतर्फ लागेका छन् । २८ वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता तरकारीको आम्दानीबाट सन्तुष्ट छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकै १२ रोपनी खेत र बारीमा उनले प्रांगारिक तरकारीखेती गर्दै आएका छन् ।

महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको उपभोग बढाए । जिल्लामा आयातित तरकारी र फलफूल नपाइएको र त्यसमा रुचि पनि नभएपछि बजारवासीले कृषककहाँ पुगेरै तरकारी खरीद गर्न थाले । यसले कार्कीजस्तै व्यावसायिक तरकारीखेतीमा लागेका किसान उत्साहित छन् ।

खबराकै अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी लगायत कृषकले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका कृषक कार्कीले २०७६ चैतदेखि २०७८ को वैशाखसम्म तरकारी विक्रीबाट ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका कृषक पौडेलले पनि गतवर्ष आफूले तरकारीबाट सोचभन्दा बढी आम्दानी गरेको सुनाए ।

म्याग्दीका ६ ओटा स्थानीय तहमा गरी २ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारीखेतीमा लागेका किसान पछिल्ला वर्षमा उल्लेख्य आम्दानी गर्न सफल भएको कृषि प्राविधिक जगत बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘कोरोना कहर शुरू भएयता मानिसले अग्र्यानिक उत्पादनको महŒव बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको छ ।’

कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरन्जा सडकको छेउमा रहेको उनको बारीमा अग्र्यानिक तरकारी खरीद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । म्याग्दीमा निजीक्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आवेबगरमा करीब १० करोड रुपैयाँ र मंगला गाउँपालिकाको हिदीमा ३ करोड रुपैयाँ लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)