ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा नफर्किंदै व्यवसाय बन्द हुने चिन्ता

२०७८ भदौ, ६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय लय फर्किंदै गरेकोमा पुनः तेस्रो लहरको त्रासले कञ्चनपुरका व्यवसायी चिन्तित बनेका छन् । उद्योग व्यवसाय पूर्ववत् अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको संकेतले व्यवसायीमा चिन्ता थपेको हो ।

कोरोना संक्रमणका कारण व्यवसाय धराशयी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले जिल्लाको आर्थिक क्षेत्र नराम्ररी थलिएको छ ।

लामो समयसम्म गरिएको निषेधाज्ञाले ठप्पप्रायः भएको व्यवसाय लयमा फर्किन सकेको छैन । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय सञ्चालन हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ उनले भने, ‘विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहर आउने भनिसकेका छन्, लकडाउनमा पनि कडाइ हुन थालेको छ, यसले आम व्यवसायी थप संकटमा पर्ने देखिएको छ ।’

कोरोनाले थलिएका व्यवसायको पुनरुत्थानका लागि सरकारबाट अपेक्षाकृत रूपमा नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ । सरकारले व्यवसायीका लागि सहुलियत ब्याजदरमा ऋण, विगतमा लिएको ऋणको ब्याज छूट तथा किस्ताको समयावधि थप लगायत सुविधा दिनुपर्ने उनले बताए ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय लयमा फर्किन लाग्दा पुनः बन्द गर्नुपर्ने चिन्ता थपिएको उनको गुनासो छ । ‘लकडाउनले थलिएको व्यवसाय शुरू हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउने भनिएको छ, यसको नियन्त्रणका लागि भन्दै लकडाउन, निषेधाज्ञा लगाइँदा व्यवसाय पुनः ठप्प हुने चिन्ता छ ।’

होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय थला परेको बताए । कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले थप समस्या पार्ने उनको भनाइ छ । ‘पहिलो लहरपछि व्यवसाय पुनर्जीवित हुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धराशयी बनाएको छ,’ उनले भने, ‘तेस्रो लहर पनि छिट्टै आउने भनिएको छ । फेरि लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’  

१० प्रतिशत सवारीसाधन मात्र सञ्चालन
कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातका साधानले यात्रु पाउन सकेका छैनन् । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक सवारीसाधनले छोटो तथा लामो दूरीका यात्रु पाउन नसकेका हुन् । महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यवसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय ठप्प हुँदा व्यवसायी मारमा परेका छन् ।

पछिल्लो समय सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णयसँगै यातायात सञ्चालनमा आए पनि यात्रु नै नभएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालिका १० प्रतिशत मात्रै सवारीसाधन चलेका छन् ।

यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनुपने उनको भनाइ छ । ‘लामो समयदेखि थन्किएका सवारीसाधनमा खिया लाग्न थालेको छ, मर्मत नगरी चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘बैंकको किस्ता तिर्न पनि मुश्किल भइरहेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)