ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

२०७८ भदौ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए ।

साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)