ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मणिपाल शिक्षण अस्पताल विक्री

बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी रहने

२०७८ भदौ, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । साढे २ दशकदेखि पोखरामा लगानीमा सञ्चालन हुँदै आएको मणिपाल मेडिकल कलेज (शिक्षण अस्पताल) विक्री भएको छ । पोखराको व्यावसायिक घराना बतास अर्गनाइजेशनका आनन्दाराज बतास र अटोवेज समूहका नारायण पौडेलले २ अर्ब २२ करोड ६० लाख रुपैयाँमा उक्त शिक्षण अस्पताल किनेका हुन् ।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूपको लगानीमा सन् १९९४ देखि मणिपाल मेडिकल कलेज सञ्चालनमा आएको थियो । करीब १ महीनाअघि हस्पिटल खरीद सम्झौता भए पनि अहिले सम्पूर्ण प्रक्रिया सकिएको अटोवेजका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहनेगरी अस्पताल खरीद गरिएको अटोवेज ग्रूपका पौडेलले बताए । ‘अस्पताल खरीदका लागि दुवै पक्षबीच सबै प्रक्रिया लगभग टुंगिसकेको छ,’ उनले भने, ‘शुक्रवार स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता हुनेछ ।’

मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोडभन्दा तिर्न बाँकी रहेकाले उक्त दायित्वसमेत सकारेर खरीद गर्ने सहमति भएको हो । खरीद सम्झौता पूरा भई स्वामित्व लिइसकेपछि अस्पताल सञ्चालक समितिमा चारजना रहने सहमति भएको छ । कलेज सञ्चालक समितिमा बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र अटोवेज ग्रूपका प्रबन्ध निर्देशक नारायण पौडेल उपाध्यक्ष रहनेछन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास र निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रूपमा रहने आन्तरिक सहमति भएको छ ।

मेडिकल कलेजसहित हस्पिटलको सम्पूर्ण सम्पत्तिको स्वामित्व खरीद भएको छ । आफ्नै स्वामित्वको ४० रोपनी जग्गा र लिजमा लिइएको १६० रोपनीसहित २०० रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ ।

नेपालकै उत्कृष्ट हस्पिटल तथा मेडिकल कलेज बनाउने लक्ष्यसहित आफूहरूले मणिपाल खरीद गरेको पौडेलले बताए । नयाँ व्यवस्थापनबाट हस्पिटल सञ्चालनमा आएसँगै थप सेवा सुविधा विस्तार गरिने र गण्डकी प्रदेशका कुनै पनि बिरामी उपचारका लागि पोखरा बाहिर जानुपर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे ।

अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने योजना रहेको पौडेलले बताए । मेडिकल कलेजमा प्यारामेडिकल, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन शुरू गर्ने योजना रहेको जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)